भाइटिका महोत्सवमा १५ देशका पर्यटक सहभागी
पोखरा । तिहार पर्वको अवसरमा पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औँ भाइटिका महोत्सवमा १५ देशका पर्यटक सहभागी हुनुभएको छ ।

होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अमेरिका, अस्ट्रेलिया, इजरायल, बेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टिका लगाउनुभएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा देश विदेशका गरी ६८ पर्यटक सहभागी हुनुहुन्थ्यो ।

लेकसाइड स्थित होटल ल्याण्डमार्कमा भएको महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरूले पर्यटकलाई नेपाली परम्परा अनुसार टिका लगाइदिनुभएको थियो । टिका र माला लगाएपछि टोपी, सल र सेल रोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो ।

संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ भन्ने नाराका साथ सङ्घले तिहारका अवसरमा महोत्सवको आयोजना गर्दै आएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आशा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्