तपाईँ सुन्दै हुनुहुन्छः

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागू गरिएपछि दुर्घटनामा कमी

बाँके । केही महिना अघिबाट बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत १५ किलोमिटर सडकमा टाइम कार्ड लागू गरिएपछि सडक दुर्घटनामा कमी आएको छ ।

निकुञ्जभित्रको पूर्व–पश्चिम राजमार्गमा सडक दुर्घटनाहरू बढेपछि नियन्त्रणका लागि १५ किलोमिटर सडकमा एक महिना पहिले टाइम कार्ड लागू गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार बाँके राष्ट्रिय निकुञ्जको शमशेर गन्जदेखि जिरोसम्मको १५ किलोमिटर सडकमा टाइम कार्ड लागू भएपछि सडक दुर्घटना घट्दै गएको छ ।

उहाँले टाइम कार्ड लागू भएको ठाउँमा त्यस यता कुनै सवारी दुर्घटना नभएको जनाउँदै यसले निकै प्रभावकारी काम गरेको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार टाइम कार्ड लागू भएको सडक खण्डमा प्रतिघण्टा ४० किलोमिटर गतिमा सवारी साधन चलाउने नियम बनाइएको छ । १५ किलोमिटर दूरी पार गर्न २२ देखि २७ मिनेटको समय दिइएको छ ।

तोकिएको समयभन्दा ढिलो गए पनि कारबाही हुने र छिटो गए पनि कारबाहीको भागिदार हुनुपर्ने नियमका कारण सवारी साधन चलाउने चालकले होसियारीपूर्वक सवारी साधन चलाउने गरेकाले पनि दुर्घटना घटेको जनाइएको छ ।

टाइम कार्ड दिने र सवारी चालकले नियम पालना गरे–नगरेको हेर्ने काम बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button