तपाईँ सुन्दै हुनुहुन्छः

सयपत्री फूल बिक्री नभएपछि आधा भन्दा कम मूल्यमा बिक्री गर्दै किसान 

चितवन । तिहारमा पनि सयपत्री फूल बिक्री नभएपछि आधा भन्दा कम मूल्यमा किसानले बिक्री गर्न थालेका छन् । यो बर्ष सयपत्री फूलको उत्पादनको तुलनामा माग कम भएपछि बाध्यताले कम मूल्यमा किसानले सयपत्री फूल बिक्री गर्न थालेका हुन् ।

तिहार अघिमात्रै फ्लोरिकल्चर एसोसिएसन , चितवनले सयपत्री फूलको माला प्रति गोटा अधिकतम खुद्रा मूल्य सय रुपैंया तोकेको थियो । लक्ष्मी पूजाको दिनसम्म खुद्रा मूल्य प्रतिगोटा माला ८० रुपैंयादेखि सय सम्म बिक्री भएपनि भाइटिकाको अघिल्लो दिनसम्म फूल माग निकै कम भएपछि आधा भन्दा कम मूल्यमा बिक्री गर्न थालिएको फूलमाला फार्म नेपालका किसान गोविन्द बास्तोलाले बताउनु भयो । ‘फूल बिक्री होला भनेर केही दिनदेखि फूल टिप्ने माला बनाउन लागियो, उहाँले भन्नुभयो, अहिले त अर्डर निकै कम पो आएको छ ।’ 

भाइटिकाको अघिल्लो दिनसम्म पनि फूलको अर्डर नआएकाले आधा मूल्यमा भएपनि बिक्री गर्न थालिएको उहाँको भनाई छ । ‘खुद्रा मूल्यमा अब ४०, ५० रुपैंया पनि बेच्नु पर्‍यो, कमसेकम कम मूल्यमा उपभोक्ताले प्रयोग गर्न त पाउन ।’ बास्तोलाले भन्नुभयो ।  यसअघि सयपत्री फूलको बिक्री र फाइदा राम्रै भएपनि आधा भन्दा कम मूल्यमा फूल बेच्दा लगानी मात्र उठ्न सक्ने उहाँको भनाई छ । 

भरतपुर वडा नम्बर २६ का किसान दिपक पाख्रिन गतबर्षको तुलनामा फूलको माग निकै कम भएको बताउनु हुन्छ । ‘पोहोर त फूल खोसाखोस थियो नि , अहिले त जति बेचे तिहार अघिनै बेचे अहिले त एउटा अर्डर आएको छैन ।’ पाख्रिनले भन्नुभयो । ‘मैले थोक नै किलोको ५०० रुपैंयामा बेचेको हुँ, अब बिक्री भएन अब पायो भने ३०० मै नत्र जतिमा पाएपनि बेच्दिन्छु ।’ उहाँले भन्नुभयो । फूलको अर्डर नआएकोले हजार वटा फूलको माला मौज्दात रहेको बारीमा थप फूल टिप्न छाडेको समेत उहाँले बताउनु भयो ।

लामो समयदेखि व्यावसायिक किसानले आफ्नो लगानी अनुसार नाफा कमाएपनि तिहारमै फूल नबिकेपछि कतिपय किसानको फूल खेर जाने उहाँको भनाई छ ।

एशोसियसनका अध्यक्ष तेजेन्द्र सापकोटाले यो बर्ष फूलखेती किसान बढेसँगै उत्पादनमा पनि वृद्धि भए अनुसार माग कम हुँदा फूल बिक्री हुन नसकेको बताउनु हुन्छ । ‘यो बर्ष फूलखेती किसान पनि बढे, उत्पादन पनि बढ्यो, उहाँले भन्नुभयो, प्लास्टिकका माला रोक लगाउने भनेपनि रोक्न सकिएन ।’ 

यसपटकको तिहारमा मानिसहरूको क्रयशक्तिनै कमजोर भएको र उपभोग गर्ने कयौँ युवा शक्ति विदेशमा रहेकोले पनि फूल बिक्रीमा असर परेको उहाँको भनाई छ । 

एशोसियनसले यसपटकको तिहारमा चितवनमा मात्रै ४ लाख फूलको खपत हुने र तीन लाख फूलको उत्पादन हुने अनुमान गरेपनि यहीँ उत्पादन भएका फूलले समेत बजार पाउन नसकेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button