आगलागीबाट आमा छोराको मृत्यु
गोरखा । गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उहाँका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका प्रनाउ श्रेष्ठले बताउनुभयो ।
आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चिसोका कारण न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्