तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाका अध्यक्ष नेम्वाङ विरुद्धको प्रस्ताव अस्वीकृत

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा बिहीबार आयोजित एन्फाको विशेष साधारण सभाले नेम्वाङ विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

नेम्वाङ विरुद्धको अविश्वासको प्रस्तावमाथि विशेष साधारण सभामा ५३ जनाले भाग लिएका थिए । जसमध्ये ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मत दिँदै नेम्वाङलाई अध्यक्षबाट हटाउन नहुने मत व्यक्त गरेका हुन् । मतदानमा एक मत बदर भएको थियो । ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग नै लिएनन् । मतदान प्रक्रियामा अध्यक्ष नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले मतदान प्रक्रिया बहिष्कार गरेका हुन् ।

हेटौँडामा उद्घाटन सत्र नै नराखी विशेष साधारणसभा अगाडि बढेको थियो । साधारण सभामा विवाद हुने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी समेत परिचालन गरिएको थियो । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् । एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button