तपाईँ सुन्दै हुनुहुन्छः

प्लास्टिकजन्य फूलगुच्छाको प्रयोग नगर्न आग्रह जिप्रका धादिङको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलगुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आज एक सूचना जारी गर्दै चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यहरूमा प्लास्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरूको प्रयोग तथा बिक्री वितरणलाई पूर्ण रुपमा नियन्त्रण गरी स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरूको प्रयोग गर्न गराउन जिल्लास्थित सार्वजनिक निकाय, राजनैतिक दल, उद्योगी व्यवसायी, नागरिक समाज लगायत सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गर्नुभएको छ ।

प्लास्टिकजन्य फूलगुच्छा, माला आदिको उत्पादन, बिक्री वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कृषकहरूबाट उत्पादित फूलहरू स्थानीय माग धान्न पर्याप्त रहेको उल्लेख गर्दै सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको कार्यालयद्वारा आज जारी सूचनामा स्मरण गराइएको छ ।

प्लास्टिकजन्य फूलगुच्छा, मालाका साथै चाड पर्वको समयमा हुनसक्ने कालोबजारी, तथा कृत्रिम अभावको सृजना गरी मूल्य वृद्धि गर्ने जस्ता कार्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button