तपाईँ सुन्दै हुनुहुन्छः

बारामा डेढ महिना नबित्दै ३ जनाको गोली प्रहारबाट मृत्यु

एक जना पक्राउ

बारा । बारा जिल्लामा शान्तिसुरक्षा कमजोर रहेको फाइदा उठाउँदै जिल्ला सदरमुकाम कलैयामा दिनदहाडै गोली प्रहार गरि हत्या गर्नुले प्रहरी प्रशासन माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । 

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  ३ वटा गोली प्रहार हत्या गर्नुले सबै जिल्लावासीमा त्रासको वातावरण छाएको छ । 

कलैया स्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका ४ जना अज्ञात व्यक्तिले ३ राउण्ड गोली हानेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । २ वटा छातीमा र एक वटा पाखुरामा गोली हानिएको उहाँले  बताउनुभयो ।  घटना स्थलमा गोलीको खोका समेत बरामद भएको छ ।   हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय भन्दा २ मिनेटको दुरीमा रहेको छ ।

गोली लागेर सख्त घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंजस्थित ब्योधा अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो । 

मृतक स्वर्णकारलाई ना.५३ प .९१२८ नम्बरको मोटरसाइकलमा बजारबाट मिठाइ किनेर विद्यालय फर्किने क्रममा अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए ।

शान्ति सुरक्षा चुस्तदुरुस्त हुन नसक्दा सदरमुकाम कलैयामा ठुलो त्रास उत्पन्न भएको नागरिक अगुवाहरूले चिन्ता ब्यतm गर्नुभएको छ । कसरी बाहिर जाने आफैमा डर त्रास उत्पन्न भइरहेको वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठले बताउनुभयो ।

यता प्रहरी उपरिक्षक काफ्लेले घटना घटाउने मुख्य पात्र कलैयाबाट एक जना नेपाली व्यक्तिलाई समात्न सफल भएको दाबी गरिएपनि नाम भने सार्वजनिक गर्न चाहनु भएन । अपराधी समात्नमा समस्या हुने हुँदा अहिले नाम सार्वजनिक गर्दा घटनामा संलग्न अन्य अपराधीहरू भाग्न सक्ने प्रहरी उपरिक्षक काफलेले जानकारी दिनुभयो । 

मोटरसाइकल पनि पहिचान भइसकेकोले चाडै ती मोटरसाइकल नियन्त्रणमा लिने बताउँदै घटनालाई सुक्षम रुपमा अनुसन्धान गरिरहेको र चाडै नै अपराधीहरूलाई समात्ने भन्नुभयो । 

यता गोली हानी बोर्डिङको सञ्चालकको  हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै  कलैयाको मुख्य चोकमा प्रदर्शन गरिएको छ । 

गोली प्रहार गर्नेलाई कारबाहीको माग गर्दै विभिन्न पार्टी निकटका युवा विद्यार्थी, तरुण, स्थानीयवासी र शिक्षकहरूले भरत चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । 

प्रदर्शनका क्रममा उहाँहरूले जिल्ला सदरमुकाममै दिनदहाडै शिक्षकमाथि गोली प्रहार गरेर हत्या भएको भन्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।

२०८० साल असोज ८ गते पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती निवासी ३५ वर्षीय अमरेश कुमार सिंह र सोही नगरपालिका वडा नम्बर ६ लक्षमिनियाको पोखरीको डिलमा भारत बिहार निवासी २२ वर्षीय अजित कुमार सिहलाई असोज ९ गते गोली हानी हत्या गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button