तपाईँ सुन्दै हुनुहुन्छः

उपभोग्य वस्तुहरूको सहज आपूर्ति तत्काल गरिन्छ : मन्त्री शर्मा

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चाडपर्वको समयमा बजारमा अभाव रहेका उपभोग्य वस्तुहरूको सहज आपूर्ति तत्काल गरिने बताउनुभयो ।

file photo

असोज १४ गते र आज बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बजारमा देखिएको उपभोग्य वस्तु अभावबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले नियमित अनुगमन कार्य भइरहेको र चाडपर्वको समयमा चिनी लगायतका उपभोग्य वस्तुहरू अभाव हुन नदिने भन्दै तत्काल आपूर्तिको व्यवस्थापन गर्ने कार्य भइरहेको बताउनुभयो ।

मन्त्री शर्माले चाडपर्वको समयमा हुनसक्ने दुर्घटना, आपराधिक घटना, चोरी, लुटपाट जस्ता कार्यलाई मध्यनजर गर्दै सुरक्षाको व्यवस्थालाई कडा बनाइएको बताउनुभयो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको लागि आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृति दिने, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म हुने नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै मनाङ एयरको दुर्घटना जाँचबुझ गर्न समितिलाई कार्यादेश दिने, रेल्वे सेवा सञ्चालन र मर्मत सम्भारको लागि तालिम प्राप्त जनशक्ति, आवश्यक उपकारण एवं मालसामान जिटुजि प्रक्रियाबाट सम्झौता खरिद गर्न सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button