तपाईँ सुन्दै हुनुहुन्छः

‘जोशीको खोजीका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थालाई आग्रह गरिएको छ’

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकार लागिपरेको बताउनुभएकाे छ । सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले आज काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँच जना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिनेबित्तिकै नेपाल ल्याइने बताउनुभयाे ।

इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको चर्चा गर्नुहुँदै उहाँले नेपालीको उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएका विपिन जोशीको खाेजीका लागि सरकारको तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उहाँले प्रस्ट पार्नुभयो ।

त्यहाँ रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उहाँले बताउनुभयो ।

साे अवसरमा उहाँले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताउनुभयाे । सुदूरपश्चिममा भएका विविध सम्भावनाहरूको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको उहाँकाे भनाइ थियाे ।

अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै उहाँले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस बेहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको धारणा राख्नुभयो । उहाँले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राख्नुभयो ।

‘देशको कुनै पनि ठाउँ सुदूर हुनु हुँदैन, देशको कुनै पनि ठाउँ भुगोलका आधारमा सुदूर हुँदैन, अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उहाँले भन्नुभयो । उहाँले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पूरा नहुने धारणा राख्नुभयो । उहाँले बजेट जनसंख्याको अुनपातमा विनियोजन हुने भएको बताउँदै सुदूरपश्चिममा सोचेअनुरुपको बजेट विनियोजन नहुने धारणा राख्नुभयो ।

‘सुदूरपश्चिममा बढी बजेट विनियोजन गर्ने मनसाय भए पनि जनसंख्याको आधारमा बजेट विनियोजन हुन्छ, बजेट विनियोजन न्यून हुने परिपाटी चुनौतिपूर्ण छ, शहरमा चालु बजेटले तान्ने भए पनि सुदूरपश्चिममा त्यो अवस्था छैन, यसको मारमा सुदूरपश्चिम पर्ने गरेको छ,’ उहाँले भन्नुभयो ।

यस्तै, उहाँले सरकारले उच्च प्राथमिकतामा राखेर सुदूरपश्चिममा भएको पर्यटन तथा सांस्कृतिक विविधताको प्रचार–प्रसार तथा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युत् र कृषिमा सुदूरपश्चिम ठूलो सम्भावनाको क्षेत्र भएको बताउनुभयो । यस्तै, उहाँले पछिल्लो समय सुदूरपश्चिममा ठूला परियोजनाहरू निर्माणाधीन अवस्थामा रहेकोले त्यसले सिंगो सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा प्रतिनिधि सभा सांसद रुपा चौधरीले सुदूरपश्चिम सामाजिक तथा सांस्कृतिक रूपमा धनी भएकोले त्यसको संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । समाजका अध्यक्ष यम बमको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पत्रकारहरले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button