पोखरामा नयाँ नोट सटही गर्नेहरुको भिड

पोखरा । बडादशैं पर्वको अवसरमा पोखरामा नयाँ नोट सटही गर्नेहरुको भिडभाड भएको छ । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले आज (सोमबार) देखि आम सर्वसाधारणको लागि नयाँ नोट सटही गर्न सुरु गरेसँगै सटही गर्नेहरुको बिहानै देखि भिडभाड सुरु भएको हो ।
नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार आज देखि सर्वसाधारणको लागि प्रति व्यक्ति १८ हजार ५० सयको नयाँ नोट सटही गर्न पोखराको कार्यालयबाट सुरु गरिएको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताउनु भयो । आम सर्वसाधारणको लागि भने गत बर्ष झैँ यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक/एक बण्डल सटहीको व्यवस्था गरिएको उहाँले जनाउनु भयो ।
नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले गण्डकी प्रदेशका बैङ्क तथा वित्तीय संघ संस्थाहरूलाई पहिलो चरणमा ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको छ । नेपालीहरूको महान् पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैङ्क पोखरा कार्यालयका उप-निर्देशक सम्झना ढकालले बताउनु भयो ।
नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ बैङ्क तथा वित्तीय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो । यस बर्ष आफूहरूसँग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गर्दै गरेको उप-निर्देशक ढकालले जनाउनु भयो ।

बालबालिकाको लागि नयाँ नोट
घण्टौँ लाइनमा बसेर पनि आम सर्वसाधारणहरूले बालबालिकाहरूको खुसीको लागि नयाँ नोट सटही गर्ने प्रचलनलाई निरन्तरता दिँदै आउनु भएको छ । दशैंको अवसरमा नयाँ नोट बालबालिकाहरूलाई दिँदा उहाँहरूको खुसीको लागि आफूले प्रायः सधैँ दशैंमा नयाँ नोट साट्ने गरेको पोखराका असित बरालले बताउनु भयो । नयाँ नोट दशैंमा टिका लगाएर बालबालिकाहरूलाई दिँदा उहाँहरूको खुसि, मज्जा मान्ने गरेकोले आफु हरेक बर्ष नयाँ नोट सटही गर्न आउने गरेको उहाँले जनाउनु भयो ।
पोखरा छोरेपाटनका एक युवा कुमार परियार पहिलो पटक एक घण्टा लाइनमा बसेर नयाँ नोट सटही गर्नु भएको छ । दशैंमा नयाँ नोटको कारोबारले मज्जा हुने सुनेर नयाँ नोट साट्न आएको बताउनु भयो । नयाँ नोट सटही गर्न झोला सहित लाइनमा बस्नु भएका महेश्वरी पराजुलीले यस बर्ष भने नयाँ नोट सटही गर्दा एक घण्टा जसोमा पालो आउने गरी व्यवस्थित भएको दाबी गर्नु भयो ।
नयाँ नोट सटही गर्नेको लाइनमा फरक धारण भएका तुलसी प्रसाद भण्डारीले आफूले कारोबार गर्ने एनआईएमबी, माछापुच्छ्रे बैंकले नयाँ नोट नदिएको कारण बालबालिकाको खुसीको लागि लाइनमा बसेर नयाँ नोट साट्न राष्ट्र बैङ्कसम्म पुगेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्