दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरूका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।
सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुख लगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।
दसैँका समयमा घर जान लागिरहेका नागरिकले बसको टिकट नपाउने या टिकट लिन समस्या हुने, बाटोमा यातायातको समस्या हुने, यातायातका लागि महँगोमा टिकट खरिद गर्नुपर्ने, रुट आदिका कारण यातायातमा समस्या हुने आदि गुनासो आउने गरेकाले नागरिकहरूको गुनासो आउन नदिई अहिल्यैदेखि यातायातको उचित र सुलभ प्रबन्ध गर्न उहाँले निर्देशन दिनुभएको हो ।
उहाँले सरोकारवाला निकायहरूसँग आवश्यक मात्रामा समन्वय र छलफल गरी तत्कालका लागि दसैँ र त्यसपछि तिहार र छठ पर्वसम्मकै लागि यातायातको योजना बनाउन र सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आज निर्देशन दिनुभएको हो ।
दसैँ, तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरूको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन र यसका लागि आवश्यक अन्य कार्यालयहरूसँग पनि प्रभावकारी समन्वय गर्न पनि उहाँले निर्देशन दिनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्