सङ्घीयता प्रतिको जनताको निराशा हटाउने गरी काम थाल्न आग्रह
रुपन्देही। लुम्बिनी प्रदेश योजना आयोगको समन्वयमा विभिन्न प्रदेशका पूर्व मुख्यमन्त्रीहरू तथा सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको दुई दिने भेला रुपन्देहीमा सुरु भएको छ ।
प्रदेशहरूको दोस्रो आवधिक योजना निर्माण र प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकाका विषयमा छलफल गर्न उहाँहरू लुम्बिनीमा भेला हुनुभएको हो ।
शुक्रवारसम्म चल्ने भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु, मधेस र लुम्बिनीका पूर्व मुख्यमन्त्रीहरू तथा लुम्बिनीका वर्तमान मुख्यमन्त्रीको सहभागिता रहेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बताउनुभयो ।

भेलामा सबै प्रदेशहरूको दोस्रो आवधिक योजनाबारे छलफल, सङ्घीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरूको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ । अहिलेसम्मको समग्र अवस्थाको समीक्षा, भोलिका दिनको योजना र आयोगको भूमिका तथा दोस्रो आवधिक योजना निर्माण र संघीय सरकारको १६ औँ योजनाको अन्तरसम्बन्ध र एकरूपता ल्याउने विषय भेलाका मुख्य एजेण्डा छन् । यसैगरी अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयवस्तु माथि पनि छलफल गरेर प्रदेशहरूको विकासको योजना तयार हुने जनाइएको छ । यसैगरी संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषय पनि भेलामा छलफल हुनेछ ।
सङ्घीयताको निराशा हटाउने गरी काम गरौँ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयता र संविधान कार्यान्वयन चुनौती रहेको भन्दै यसको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री चौधरीले सङ्घीयता फेल भयो भने संविधान पनि फेल हुने हुँदा यो चुनौती सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।
उहाँले सङ्घीयता प्रतिको जनताको निराशा हटाउने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री चौधरीले तिनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरी जनताप्रतिको विश्वास बढाउनुपर्ने र सङ्घीयताप्रति बढेको निराशा कम गराइ सङ्घीयता र संविधानप्रतिको विश्वास बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले सङ्घीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु यादवले केन्द्रले सङ्घीयताप्रति राख्ने दृष्टिकोण फरक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले सङ्घीयताको मर्म सहकार्य, समन्वय र सहअस्तित्व कायम गर्ने रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले भेलाबाट उठेका विषयबाट सबै प्रदेशमा योजना निर्माण र कार्यान्वयनमा सहज हुने अपेक्षा गरेको बताउनुभयो ।
भेलामा पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीको सङ्घीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश सरकारको भूमिका, अभ्यास, अवसर र चुनौती, प्रा. डा. विश्वनाथ पौडेलको योजना तर्जुमा, विकास व्यवस्थापन र तहगत सरकारको भूमिका विषय कार्यपत्रमा छलफल हुनेछ ।
त्यसैगरी प्रा.डा. गोविन्द पोखरेलको योजना तर्जुमा र विकास व्यवस्थापनमा प्रदेश योजना आयोगको भूमिका विषय कार्यपत्र तथा सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरूको सुझावलाई समेटिने छ ।








प्रतिक्रिया राख्नुहोस्