सत्ता गठबन्धनलाई सही बाटोमा हिँडाउन प्रेरित गरिरहेका छौँ : माधवकुमार नेपाल

नेपालगन्ज । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई सही बाटोमा हिँडाउन आफ्नो पार्टीले प्रेरित गरिरहेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीले थालेको “समाजबादी जागरण अभियान २०८०” अन्तर्गत आज बाँकेको कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारलाई जनताका दुःख र पीर/मर्कामा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभयो । नेपालले देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारप्रति जनभरोसा बढाउनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले जनचाहना अनुसार काम गर्न सरकारलाई सचेत बनाइरहेको बताउनुभयो ।
आफ्नो पार्टी गरिब र सर्वहारा जनतासँग जोडिएर काम गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि बढेको उल्लेख गर्दै नेपालले विचार मिल्ने शक्तिहरूलाई एकीकृत गर्दै समाजबादी मोर्चा बनाउने अभियानमा लागेको बताउनुभयो । उहाँले आफ्नो पार्टीसँग जोडिएर समाजबादी अभियानमा सरिक हुन आह्वान समेत गर्नुभयो । जनसभालाई वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्