तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौँ । सार्वजनिक लेखा समितिले हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले कालोबजारी, सिन्डिकेट र उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरी आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको हो ।

सार्वजनिक लेखा समितिले वस्तु तथा सेवाको गुणस्तर र बजार मूल्यको नियमित अनुगमन गर्न/गराउन, गैरकानुनी काम गर्नेलाई तत्काल कानुनी कारबाही गर्न समेत निर्देशन दिएको छ ।

समितिले हरेक पसलमा मूल्य सूची राख्न र अनिवार्य रुपमा बिलबिजक जारी गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिँदै समितिको निर्देशन कार्यान्वयन भए/नभएको प्रगति विवरण एक महिनाभित्र समितिलाई उपलब्ध गराउन पनि बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिले अत्यावश्यक खाद्यान्न लगायतका ग्याँस, पेट्रोलियम पदार्थ भण्डारणको अवस्था, हालसम्म भएका कामको विवरण र भावी कार्ययोजनाका विषयमा सात दिनभित्र समितिलाई उपलब्ध गराउन उद्योग, तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button