तपाईँ सुन्दै हुनुहुन्छः

आँखाको ज्योति फर्केपछिको खुसी

सल्यान । बनगाड कुपिण्डे नगरपालिकाकी ६४ वर्षीया भन्द्री महतरा आफ्नो आँखा बन्द भएको धेरै लामो समयपछि बिहीबार आँखा देख्दा निकै दङ्ग पर्नु भयो ।

आँखा देख्न छाडेको धेरै समयपछि फेरी आँखा देख्न थालेपछि खुशीका आँसु झार्दै महतराले बुढेसकालमा फेरी एक पटक संसार देख्न पाएकोमा निकै खुशी लागेको बताउनु भयो ।

७० वर्षीय लिले रानाको अनुहारमा खुसीको चमक देखि रहेको थियो । मोतिया बिन्दुको सफल शल्यक्रियापछि आँखा देख्न पाएकोमा निकै खुसी लागेको उहाँको भनाई छ ।

७ जनाले मोतियाविन्दुको सफल शल्यक्रिया पछि पुनः संसार देख्ने भएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वय एवम् सुर्खेत आँखा अस्पताल तेजकोहिल एण्ड फाउन्डेसन काठमाडौँको आर्थिक तथा प्राविधिक सहयोगमा भएको निःशुल्क एक हप्ते आँखा शिविरमा ७ सय बढीले उपचार सेवा लिएका छन् भने ८७ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

आँखा शिविरमा सल्यान बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका, शिद्धकुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका मानिसहरूले सेवा लिएका छन् ।

विगतमा मोतियाविन्दुको शल्यक्रिया गर्न सुर्खेत वा दाङ पठाउनु पर्ने बाध्यता रहेकोमा यसपटक भने पालिका केन्द्रमा नै शल्यक्रियाको व्यवस्था गरिएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।

विपन्न वर्गका नागरिकहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएकोमा पैसा नभएका कारण समयमा आँखा जाँच समेत गर्न नसक्नेहरूका लागि शिविरको आयोजना गरेर निःशुल्क सेवा प्रदान गरिएको मेडिकल डाइरेक्टर डा. मनिश खतिवडाले बताउनु भयो ।

आफ्नो यो शिविर १६ औँ रहेको र आगामी दिनहरूमा पनि यसले निरन्तरता पाउने बताउनु भयो । शल्यक्रिया गरिएका सबैलाई नगरपालिकाले फलफूल समेत वितरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button