तपाईँ सुन्दै हुनुहुन्छः

सडक विस्तार भए पनि ट्राफिक व्यवस्थापनमा समस्या

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा सडक विस्तार भए पनि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । 

मेची राजमार्ग अन्तर्गत फिदिमको समर्पित अस्पतालदेखि चार खम्बेसम्म १ हजार ७ सय मिटर सडक स्तर उन्नति भए पनि सवारी व्यवस्थापनमा समस्या देखिएको हो । 

बजारमा स्थायी रुपमा पार्किङको व्यवस्था नहुनु, सडकको छेउमा पसल हुनु, बैङ्क वित्तीय संस्था र होटेलको आफ्नै पार्किङ स्थल नहुनु, माल वाहक सवारीले सामान लोड अनलोड गर्ने उचित स्थान नहुनु जस्ता समस्याले सवारी व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रमुख कुल बहादुर बुढाथोकीको भनाई छ ।

सडकको मध्य भागदेखि दायाँ बायाँ ८/८ मिटर बिस्तार भएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने बजार बासीको आशा थियो । दोहोरो सडक सञ्चालन भएर पनि सवारी व्यवस्थापन हुन नसकेकोले दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । 

सवारी चालकले अधिकांश स्थानमा रङ साइड , जेब्रा क्रसिङ र डवल  पार्किङ गर्नाले झनै सडक अस्त व्यस्त बनेको छ । अधिकांश रुपमा मोटरसाइकलले ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको र नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिरहेको ट्राफिक प्रहरीको दाबी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जनशक्तिको अभाव भएर पनि क्षमताले भ्याएसम्म ट्राफिक व्यवस्थापन गर्ने ट्राफिक प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । 

फिदिम नगरपालिका २ मा रहेको बसपार्क पूर्णरुपमा सञ्चालनमा ल्याएर पार्किङको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यक देखिन्छ । ट्राफिक प्रहरी, नगर प्रहरी र प्रहरी सक्रिय रुपमा लागि परेमा सवारी व्यवस्थापनमा सहज हुने स्थानीयहरूको विश्वास छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button