पोखराका व्यापारिक सटरहरू खाली हुने क्रम जारी

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रमा अघिल्ला वर्षको तुलनामा बजारमा प्रायः शुन्य जस्तो भएको छ । दशैं पर्व नजिकिँदै गर्दा अन्य वर्षमा यस समयमा किनमेल गर्नेहरुको भिड हुने गरेको पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा हाल मन्द व्यापार भएको छ भने केही ठाँउहरुमा व्यवसायीक सटरहरू नै हटाए पछि घरधनीहरूले सटर भाडामा भनी बोर्ड टाँस्न थालेका छन् ।
कोरोना त्यसबाट उत्पन्न भएको आर्थिक मन्दिर र सरकारको व्यवसायीक मैत्री नीति अभावका कारण अहिले पोखरा क्षेत्रका व्यवसायहरू निकै ठुलो मारमा परेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बताउनु भयो । उहाँले भन्नु भयो बजार चलायमान नै छैन, कसरी यहाँको आर्थिक क्रियाकलाप हुन पाएको छ, मानिसहरूसँग पैसा छैन जस पैसा एकबाट अर्कोमा चक्रीय रुपमा हिँड्दैन तबसम्म बजारमा आर्थिक संकट कायमै रहन्छ ।”
नेपाल सरकारको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बिचको द्धन्दको कारण आम मध्यम र साना व्यापारीहरू यति वेला ठुलो मारमा पर्नु भएको अध्यक्ष प्रजापतिले जनाउनु भयो । कर्जामा असहज वातावरण सृजना गरी ब्याजदर वृद्धि गर्नुले आम जनतासँगै व्यवसायीहरू यसको प्रत्यक्ष मारमा परेको उहाँको भनाई छ । मानिसहरूको आय श्रोत घट्दै जाँदा पहिलाको तुलनामा खर्च गर्ने सामर्थ्य पनि घटेको बताउँदै अध्यक्ष प्रजापतिले अहिले घर, जग्गा र गाडी समेत बिक्रीको लागि आव्हान गरिएको सूचना सँगै सटरहरू समेत खाली हुँदै आएको दाबी गर्नुभयो । ४ करोड मूल्य पर्ने घर जग्गा हाल बजारमा ३ करोडमा पनि बिक्री हुन नसक्ने अवस्था रहेको उहाँको भनाई छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यस वर्षको दशैंको सुरुवातमा खासै आन्तरिक पर्यटकको चहल पहल नभएको बताउनु भयो । उहाँले भन्नु भयो, “आशा गरौँ दशैं नजिकिँदै छ, यस बर्ष आन्तरिक पर्यटकहरू हामीले अपेक्षा गरे अनुसारका आउनु हुनेछ, पोखरामा हाल भारतीय र केही चाइनिज पर्यटकको आगमन ठिकै छ ।”
पोखरा मुग्लिङ सडक खण्डको कारण हाल आन्तरिक पर्यटक आगमनमा गिरावट आएको दाबी गर्दै अध्यक्ष श्रेष्ठले पोखरा क्षेत्रमा आउने पर्यटकहरूको लागि उक्त सडक स्तरउन्नतीको कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्नु भएको छ । पोखराको लेकसाइड बाहेक अन्य क्षेत्रमा व्यापारिक सटरहरू खाली हुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले घरभेटीहरूले पनि व्यवसायलाई टिकाउने वातावरण सृजना गर्न केही महिना भाडा छुट तथा शुल्कको दर समेत घटाउन सुझाव दिनु भएको छ ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले पोखरा क्षेत्रमा हाल करिब ३० प्रतिशत जसो व्यावसायिक सटरहरू खाली भएको बताउँदै आउनु भएको छ । घर भाडामा केही सहुलियत दिएर व्यवसाय गर्ने वातावरण गर्न मिलाउन उहाँले आग्रह गर्दै आउनु भएको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङगा, न्यूरोड, नयाँबजार, पृथ्बीचोक, लेकसाइड, पालिखेचोक, बगर, पार्दी अम्मरसिंहचोक लगायतका क्षेत्रमा हाल व्यवसायीक सटरहरू खाली हुने क्रम जारी रहेको छ ।
उत्पादन भन्दा आयातमुखी व्यापार भएकोले गर्दा पनि यसरी व्यवसायीहरू विस्थापित हुनु पर्ने अवस्था आएको एक युवा व्यवसायी दीपक कार्कीले बताउनु भयो । सिटिजस फर्निचर ट्रेड लिङ्कका सञ्चालक समेत रहनु भएका युवा व्यवसायी कार्कीले अघिल्ला वर्षको तुलनामा यस बर्ष बजारमा चहलपहल ह्वात्तै घटेको दाबी गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्