तपाईँ सुन्दै हुनुहुन्छः

गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य : उपप्रधानमन्त्री खड्का

काठमाडौँ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताउनुभएको छ । मङ्गलबार यहाँ आयोजित एक समारोहमा ‘रातो टिकी’ साङ्गीतिक श्रव्यदृश्य सार्वजनिक गर्नुहुँदै उहाँले गीत–सङ्गीत समाजलाई बदल्ने अस्त्रका रूपमा प्रयोग हुनसक्ने बताउनुभयो ।

श्रव्यदृश्य हेरेपछि उपप्रधानमन्त्री खड्काले सम्पूर्ण निर्माण समूहलाई गीत–सङ्गीतका माध्यमले समाजलाई सकारात्मक सोच प्रवाह गरेको भन्दै बधाई दिनुभयो ।

उहाँले भन्नुभयो, “श्रीमान्को मृत्यु भएपछि आफ्नो जीवन खुसीले बाँच्न पाउने महिलाको अधिकारलाई श्रव्यदृश्यमा देखाइएको छ । उमेर हुँदै पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुसीले बाँच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाको जस्तै गरी बाँच्न पाउने हकबारे प्रष्ट सन्देश श्रव्यदृश्यमा छ । हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाए पनि अहिले समाज परिवर्तनशील छ, यसलाई श्रव्यदृश्यमा राम्रोसँग देखाइएको छ ।”

मुलुकको पश्चिमी भेगमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले समाजलाई बदल्न जरुरी रहेको जिकिर गर्नुभयो । श्रव्यदृश्यमार्फत समाजलाई बदल्ने कुरा देखाएकामा उहाँले सम्पूर्ण समूहलाई आगामी दिनमा पनि यस्तै सन्देशमूलक काम गर्न आग्रह गर्नुभयो ।

गीतमा अभिनय गर्नुभएका अभिनेता राजेश हमाल हाल देशबाहिर रहनुभएकाले उहाँले श्रव्यदृश्यमार्फत सन्देश पठाउनुभएको थियो । उहाँले भन्नुभयो, “गीत–सङ्गीतमार्फत दिइने सन्देशलाई हेरेर बुझ्न र मनन गर्न सबैमा आग्रह गर्दछु ।”

‘रातो टिकी’ गीतमा कृष्ण विक, मेलिना राई र रेखा जोशीको स्वर दिनुभएको छ । सुरेश अधिकारीले रचना गर्नुभएको उक्त गीतमा उहाँकै सङ्गीत रहेको छ । गीतको श्रव्यदृश्यमा अभिनेता हमालसँगै दिलीप रायमाझी, केकी अधिकारी र नीता ढुङ्गानाले अभिनय गर्नुभएको छ ।

फड्के समूहको कथक नृत्यको प्रस्तुति शुभारम्भ

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँ तथा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समूहद्वारा ‘कथक नृत्य वाचन’ कार्यक्रम मङ्गलबार काठमाडौँबाट शुभारम्भ गरिएको छ ।

विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय रहनुभएकी नृत्य कलाकार फड्केको समूहद्वारा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ कथक नृत्यको प्रस्तुति भएको थियो । उहाँलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले नृत्यमा साथ दिनुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रममा यसमा आफ्नो भविष्य खोजिरहनुभएकालाई प्रेरणा दिन्छ, अगाडि बढ्न मद्दत गर्छ ।”

नृत्य गुरू फड्केको समूहले नेपालका तीन स्थानमा प्रस्तुति दिने कार्यक्रमअनुसार दोस्रो प्रस्तुति आज विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति यही असोज १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्तिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञ परिषद् सदस्य, सभा सदस्य, पूर्व पदाधिकारी, भारतीय दूतावासका प्रतिनिधि एवं सङ्गीत, नृत्य, नाटक क्षेत्रका विशिष्ट स्रष्टा, सर्जक, कलाकार र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button