एकीकृत समाजवादीको जागरण अभियान झापाबाट सुरु
भद्रपुर, झापा।नेकपा (एकीकृत समाजवादी) पार्टीले झापाको पूर्वी नाका काँकरभिट्टाबाट ‘एकीकृत समाजवादी जागरण अभियान, २०८० मेची–महाकाली यात्रा’ सुरु गरेको छ ।
मेचीनगरको काँकरभिट्टामा अभियानकोे उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गर्ने उद्देश्यले समाजवादी जागरण अभियान सञ्चालन गरिएको बताउनु भयो । उहाँले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने पनि अभियानको उद्देश्य रहेको बताउनु भयो ।
त्यसैगरी, पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अनेकौं व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण पार्टीले अभियान सुरु गरेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँँदै जाँदा व्यापार घाटा बढ्नुका साथै महंगी बढेर देशमा आर्थिक संकट चरम रुपमा पुग्दासमेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गर्नुभयो ।
पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्नसक्ने बताउनुभयो ।
कार्यक्रम सुरु हुन अघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्