तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा थप चार केजी सुन बरामद

दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगरस्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउँसो ४ः१५ बजे भेटिएको छ ।

दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगर बजार आसपास ढुङ्गाको चेपमुनि लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

फरार रहेका अशोक मगर लगायतले लामाबगर आसपास सुन लुकाएको आशङ्कामा खोजतलास गर्दा लामाबगर बजारस्थित निज मगर पहिले बस्ने गरेको घरको पछाडि ढुङ्गाको चेपमुनि घाँसको चपरीले छोपिएको अवस्थामा चार केजी सुन भेटिएको प्रहरीले जनाएको छ ।

यस अघि विशेष सुराकीको आधारमा प्रहरीले विगु गाउँपालिका–३ जामुनेस्थित सिता तामाङको घरमा डेरा बस्ने केशर तामाङको कोठाबाट सात केजी सुन बरामद गरेको थियो । गत बुधवार चार केजी र शुक्रवार तीन केजी सुन बरामद भएको थियो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु–१ लामाबगरका १९ वर्षको पेम्बा तामाङ, २८ वर्षको केशर तामाङ, २० वर्षको माधव मगर, ५५ वर्षको नुर्वुछिरीङ शेर्पा, ३० वर्षको सुनमाला तामाङ, राज तामाङ र ३० वर्षको च्याङबा भन्ने चसमान तामाङ रहेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

अहिलेसम्मको अनुसन्धानमा चिनिया नागरिकले लामाबगरको फलाक नाकासम्म उक्त सुन ल्याउने र नुर्वु लगायतलाई जिम्मा लगाउने गरेको देखिएको प्रहरीले जनाएको छ । यस अघि पनि लामाबगर नाकाबाट अवैध सुन भित्रिएको आशङ्का गरिए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button