प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी (पूर्णपाठ)

काठमाडाैँ I प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुनको अवैध पैठारी तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग आजै गठन गरेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यससँगै चाडबाडका बेलामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि उपयुक्त नभएकाले आफ्नो जानकारीमा आउनासाथ फिर्ता लिन निर्देशन दिएको र त्यस अनुसार नेपाल आयल निगमले मूल्य वृद्धि फिर्ता पनि लिएको जानकारी गराउनुभयो ।
यस्तै आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको तर्फबाट भएको सहभागिता र चीन भ्रमणबारे सदनलाई जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको भ्रमण दलले सम्पन्न गरेको संयुक्त राष्ट्रसङ्घ महासभा र मित्रराष्ट्र चीनको भ्रमणबाट विश्वासको वातावरण बन्नुका साथै नेपाल विश्व मञ्चमा चिनिने गरी स्थापित भएको बताउनुभयो ।
नेपालमा द्वन्द्वबाट शान्तितर्फ भएको सफल रूपान्तरणलाई विश्व समुदायले मान्यता दिनुपर्ने, जलवायु परिवर्तन लगायतका विषय महासभामा जोडदार रुपमा उठाउन सफल भएको र विश्व मञ्चमा नेपाल चिनिने गरी स्थापित गर्न सकेको पनि बताउनुभयो ।
यस्तै बैठकमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटघाट र छलफलले नेपाल–चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ बनाएको र विगतमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजान मद्दत पुगेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले चीनको द्रुत विकासबाट पाठ सिक्दै चीन सँगको सहकार्य र सहयोगमा गरिबी निवारण र आर्थिक उन्नति गरी नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने हिसाबले काम गर्न भ्रमणले दुई देशबीच वातावरण निर्माण गरेको बताउनुभयो ।
प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक २०८० पेश गर्नुभयो ।
विद्यालय शिक्षा विधेयक पेश गर्नुहुँदै शिक्षामन्त्री राईले विद्यालय शिक्षा सुधार र विद्यालय शिक्षामा देशमा एकरूपता कायम गर्न संवैधानिक व्यवस्था अनुरुप विधेयक अगाडि सारिएको बताउनुभयो ।
यस अघि प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मूल्य बढेपछि सधैँ मूल्य बढाइहाल्ने नेपाल आयल निगमले मूल्य घट्दा किन तत्काल घटाउँदैन भनी प्रश्न गर्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मूल्य वृद्धि नियन्त्रणको माग गर्दै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेलाई बोल्न समय दिनुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक असोज १६ गते मङ्गलवार दिनको १ बजे बस्ने छ ।

सम्बोधनको पूर्णपाठ :








प्रतिक्रिया राख्नुहोस्