बाजुरामा मौलिक पर्व अनन्ते मेला शुरु
बाजुरा । बाजुरालीहरुको स्थानीय मौलिक संस्कृति बोकेको पर्व अनन्ते मेला बाजुरामा शुक्रवारबाट सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनबाट सुरु गरिने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रुपमा लिने गरिएको छ।

जिल्लामा दशैं पछिको महत्त्वपूर्ण पर्वका रुपमा मानिने अनन्ते मेला ३ देखि ५ दिनसम्म हुने गर्दछ । यो वर्ष शुक्रबार साँझबाट शुरु गरिएको अनन्ते मेला १४ गतेसम्म भव्यताका साथ मनाइने मार्तडी अनन्ते मेला व्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताउनुभयो ।
महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजय हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमामा रही न्यायका पक्षधरहरूले विजयी उत्सवका रुपमा अनन्ते पर्व मनाउने गरिएको जानकारहरू बताउँछन्।
अनन्ते मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीतसँगै बिजुराका धुन र गाथाको माध्यमद्वारा मेला मनाउने गरिएको स्थानीय बुद्धिसिंह थापाले बताउनुभयो।
बाजुरामा मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा अनन्ते पर्व मनाउने गरिन्छ । अनन्ते पर्वका अवसरमा जिल्लाको बडिमालिका नगरपालिकाले भोलि सार्वजनिक बिदा समेत दिएको छ।






प्रतिक्रिया राख्नुहोस्