महँगोमा भारत निर्यात हुँदा झापामा प्लाइउडको अभाव

भद्रपुर, झापा । झापाको बजारमा प्लाइउडको अभाव देखिएको छ ।
उद्योगहरूले स्थानीय बजारभन्दा भारततिर निर्यातलाई प्राथमिकता दिएपछि स्थानीय बजारमा प्लाइउडको अभाव भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
विगत ६ महिनादेखि झापाका प्लाइउड उद्योगहरूले धमाधम भारत निर्यात गर्दै आएका कारण स्थानीय बजारमा प्लाइउडको अभाव देखिएको बिर्तामोडको मनिष आइरनका सञ्चालक मनिष अग्रवालले बताउनुभयो ।
भारतमा निर्यातलाई प्राथमिकता दिएका उद्योगहरूले अग्रिम पैसा भुक्तानी गर्दा पनि स्थानीय व्यापारीलाई कम प्राथमिकता दिएको व्यवसायीहरूको गुनासो छ । भारतमा निर्यात गर्न थालेपछि उद्योगीहरूले स्थानीय व्यापारीहरूको मतलब गर्न छोडेको अग्रवालको आरोप छ ।
तर, पूर्वाञ्चल प्लाइउड संघका महासचिव दुर्गा भण्डारीले उत्पादन खर्च नै उठाउन मुस्किल परेपछि भारततिर बिक्री बढाइएको बताउनु भयो । स्थानीय व्यवसायीहरूलाई पनि प्लाई उपलब्ध गराइरहेको उहाँको भनाइ छ ।
विर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले ६ महिनादेखि बजारमा प्लाइउडको कृत्रिम अभाव भइरहेको बताउनु भयो । सामान भारत पठाएर यहाँ कृत्रिम अभाव खडा गरेको मैनालीको आरोप छ । पहिले बाँकी दिन तयार उद्योगीहरूले यतिबेला स्थानीय व्यापारीलाई अग्रिम पैसा बुझाउँदा पनि सामान दिन नसेकेको मैनालीले बताउनु भयो ।
स्थानीय बजार स्थायी र सुरक्षित हुँदाहुँदै भारत निर्यात गरेर व्यवसायीहरूलाई अप्ठ्यारो बनाउने काम भएको उहाँको आरोप छ ।








प्रतिक्रिया राख्नुहोस्