तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिको लक्ष्य सहित जनताको पक्षमा काम गर्न जरुरी : नेता सिटौला

file photo

धनगढी । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विकास र समृद्धिको लक्ष्य सहित जनताको पक्षमा काम गर्न जरुरी रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित संविधान कार्यान्वयन: जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा उहाँले जनताको पक्षमा काम गर्न सकेमा संविधानको सार्थकता हुने बताउनुभयो । 

नेता सिटौलाले संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै त्यस कार्यमा सबैले दृढ भएर लाग्नु पर्ने बताउनुभयो । संसदमा ठुलो दलको भएकाले काँग्रेसको नेतृत्वमा सरकार गठन हुनु स्वभाविक भएपनि काँग्रेस एक्लैले सरकार बनाउन सक्ने अवस्था नरहेकाले गठबन्धनको सरकार बनेको उहाँले बताउनुभयो ।

नेपाली जनताको आशा भरोसाको केन्द्र काँग्रेस छ, काँग्रेससँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वास छ, त्यसैले काँग्रेसीजनले निराश हुनु पर्ने अवस्था छैन, उहाँले भन्नुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य कुन्दन काफ्लेले काँग्रेसकै नेतृत्वमा संविधान सभाको निर्वाचन, संविधान निर्माण र संविधान कार्यान्वयन भएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा काँग्रेस अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button