तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कमैयाडाँडामा प्रसूतिसँगै एम्बुलेन्स सेवा सुरु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कमैयाडाँडामा प्रसूतिसँगै एम्बुलेन्स सेवा सुरु गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले प्रसूति भवन तथा एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो । अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

पालिकाका नौ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शून्यमा झारिने उहाँको भनाई छ । ‘पालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ । उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गर्ने हाम्रो उद्देश्य छ । त्यसलाई पूरा गरिन्छ ।’

कमैयाडाँडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि त्यस क्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगञ्ज आउनु पर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाई छ । पालिकाले बर्थिङमा थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनुभयो ।

यो सँगै पालिकाका ७ स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेका छन् । अब यसै आर्थिक वर्षमै शम्शेरगन्जमा पनि वर्थिङ सेन्टर सञ्चालनमा ल्याइने पालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडाध्यक्षहरू शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाह लगायतले वर्थिङ सेन्टर सञ्चालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

२६ लाख २४ हजार ९ सय ५८ रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । उहाँले वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीलाई सेवा लिन सहज भएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको २४ लाख तथा पालिका र वडा कार्यालयको करिब एक लाखको सहयोगमा एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् ।

बर्थिङ सेन्टर सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमी तिलसरी घर्तीले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ओपिडी, डट्स सेन्टर, कुपोषित बालबालिका उपचार केन्द्र, सुरक्षित मातृत्व लगायतका सेवा प्रवाह गर्दै आएको अहेव चेतनाथ थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button