बाँकेको राप्तीसोनारी गाउँपालिकामा जनताको गुनासो सुन्न ‘गुनासो एप’
बाँके । राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ ।असारबाट परिक्षण सुरु गरेपनि उक्त एपलाई आजबाट औपचारिक रुपमा प्रयोगमा ल्याएको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याइ गुनासो एपका माध्यमबाट जनताका गुनासोहरूको तत्काल सम्बोधन हुने विश्वास ब्यक्त गर्नुभएको छ।
मोबाइलको प्ले स्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनु भयो।
गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारु र अवधि भाषामा राख्ने तयारी गरेको समेत उहाँले जानकारी दिनु भयो। गाउँपालिकालाई पारदर्शी, सुशासन मैत्री गराउन तथा जनताका गुनासोलाई छिटो भन्दा छिटो समाधान गर्ने उद्देश्यले यस्तो एप प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाई छ ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार सेवाग्राहीले सम्बन्धित शाखा तथा वडा कार्यालयमा पठाएको गुनासोलाई तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । जनताको गुनासो सम्बोधन भए/नभएको विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनुगमन गर्न सक्ने सूचना प्रविधि अधिकृत पौडेलले बताउनु भएको छ ।
गाउँपालिकाले आइतबार उक्त एप प्रयोगमा ल्याएसँगै विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्य लगायतलाई प्रशिक्षण दिएको छ । ‘गुनासो एप प्रयोगमा ल्याउने राप्तीसोनारी गाउँपालिका बाँकेकै पहिलो भएको सूचना प्रविधि अधिकृत पौडेलले जानकारी गराउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्