भीमदत्त नगरपालिकाले महाकाली नदी बाहेक अन्य खोला नालाको नदीजन्य पदार्थ सङ्कलन ठेक्का लगाउने
कञ्चनपुर ।कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदी बाहेक अन्य खोला नालाको नदीजन्य पदार्थ सङ्कलन(रोयल्टी) ठेक्का लगाउने भएको छ । भीमदत्त नगरपालिकाको राजश्व परामर्श समितिको बैठकले चालु आर्थिक वर्षका लागि ठेक्का लगाउने निर्णय गरेको हो ।
महाकाली नदी सहित खोला नालामा ठेक्का लगाउन नसकिएपछि अहिले नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । महाकाली नदीमा ठेक्का नगरी अमानतबाट रोयल्टी सङ्कलन गर्न लागिएको भन्दै विरोध भएपछि अनिश्चतकालनका लागि रोक्का गरिएको हो ।
राजश्व परामर्श समितिले प्रारम्भिक वातावरणीय परीक्षण(आइइई) गरिएका खोला नालामा ठेक्का लगाउने निर्णय गरेको हो । गत वर्ष आइइई गरिएका ती खोलानालाबाट पनि अमानतमा राजश्व सङ्कलन गरिएको थियो ।
भीमदत्तको राजश्व परामर्श समितिका संयोजक उप मेयर निलम लेखक जोशीले आइइई गरिएका सबै खोलानालामा ठेक्का लगाउने निर्णय गरिएको बताइन् ।
उप मेयर जोशीले महाकाली नदीमा पनि आइइईका लागि प्रक्रिया अघि बढेकाले छिटो ठेक्का लगाउने गरी अघि बढेको बताइन् ।
भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीको इआए र ब्रह्मदेब महाकाली, रौटेला खन्ने खोला, गहताडी खोला, कामीकाटे खोलाको आइइईका लागि सम्झौता गरेको थियो । महाकाली नदीको इआए प्रतिवेदन स्वीकृतका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पेश गरिएको छ । इआएका लागि १७ लाख बढीमा सम्झौता गरिएको थियो ।
ब्रह्मदेब महाकाली सहितका पाँच खोलाको आइइईका लागि २४ लाख ३८ हजार खर्च गरिएको छ । भीमदत्त नगरपालिकाले गत वर्ष आइइई गरी दुई वर्षका लागि प्रतिवेदन स्वीकृत गरेको थियो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले केही दिन नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्री वितरण रोक सम्बन्धि सार्वजनिक सूचनामा महाकालीको इआए मन्त्रालयमा अध्ययनको क्रममा रहेको र आइइई पुनरावलोकन भई रहेको उल्लेख गरिएको थियो ।
आइइई पुनवलोकन थालिएको पाँच खोलामा आइतबार ठेक्का लगाउने निर्णय गरिएको हो । आईइई गरिएका खोला नालामा समेत ठेक्का व्यवस्थापन नगरी भीमदत्तले अमानतबाट राजश्व सङ्कलन गर्न खोजेको पुष्टि भएको छ ।
असोज १ गतेदेखि नदी खोला नालामा नदीजन्य पदार्थको उत्खनन खुल्ने गरेको छ । भीमदत्तमा नदीजन्य पदार्थ उत्खनन रोक लगाइएको छ ।
भीमदत्तको नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने निर्णय विरुद्ध निर्माण व्यवसायीले नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदी सहित सबै नदी खोलानालाबाट अमानतमा २ करोड १७ लाख मात्रै राजश्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो राजश्व रकम ६ करोड भन्दा बढी सङ्कलन गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्