विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन लगायत नउडाउन आग्रह गरेको छ ।
विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
प्राधिकरणले आज विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध सहितको एक सूचना प्रकाशित गरेको छ ।
चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ । यसैगरी प्राधिकरण आग्रहलाई अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गरिने प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्