विद्यालयमा पाहुना शिक्षक

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ ।
विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरी ज्ञान दिन गाउँपालिकाले सञ्चालन गरेको ‘शैक्षिक जागरण अभियान’ अन्तर्गत सबै सामुदायिक विद्यालयमा विभिन्न क्षेत्रका विज्ञलाई पाहुना शिक्षकका रुपमा व्यवस्था गरिने भएको हो ।
गाउँपालिकामा सञ्चालित चारवटा माध्यमिक विद्यालय र सातवटा आधारभूत विद्यालयमा शैक्षिक जागरण अभियान सञ्चालन हुनेछ । जसअनुसार प्रत्येक हप्ताको एकदिन कुनै एक क्षेत्रका विज्ञ अर्थात् पाहुना शिक्षकले आफ्नो ज्ञान, आफूले योग्यता हासिल गरेको क्षेत्र, यसको महत्त्व र बालबालिकालाई भावी योजना तय गर्न सहजता होस भन्ने हेतुका साथ शैक्षिक जागरण अभियानमार्फत सबै विद्यालयमा ज्ञान प्रदान गर्ने कपुरकोट गाउँपालिकाले जनाएको छ ।
पालिकाभित्रमा सञ्चालित विद्यालयमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि शैक्षिक जागरण अभियान सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो । ‘विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरको ज्ञान दिन शैक्षिक जागरणको अभियान सञ्चालन गर्न लागेका हौँ, यस अभियानमा कुनै पनि क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्तिले सातामा एक घण्टी विद्यार्थीलाई पढाउन सक्नेछ’ – उहाँले भन्नुभयो– ‘विज्ञ व्यक्तिलाई पाहुना शिक्षकका रुपमा विद्यालयमा पठाउँछौँ ’ । दशैअघि नै सबै विद्यालयमा पाहुना शिक्षक पुग्ने र सातामा एक दिन विद्यार्थीले किताब बाहेक बाहिरी क्षेत्रको बारेमा ज्ञान हासिल गर्न पाउने उहाँको भनाइ छ ।
उहाँले विद्यार्थीलाई सामाजिक, शैक्षिक, प्रशासनिक, आर्थिक, उत्प्रेरणात्मक, स्वास्थ्य, कृषि, रोजगार, निर्माण, खोज, विज्ञान, वन तथा वातावरण, विपद् व्यवस्थापन, नैतिक शिक्षा, न्यायिक प्रक्रिया लगायतका विषयमा विज्ञहरूबाट साप्ताहिक रूपमा कक्षा सञ्चालन हुने बताउनुभयो ।
शैक्षिक जागरण अभियानमा सहभागी हुन चाहने विज्ञहरूलाई आफूले लिन चाहेको क्षेत्रको प्रस्ताव पेश गर्नका लागि असोज ५ गतेसम्मको समय तोकिएको छ । कतिपय विज्ञले निःशुल्क कक्षा लिनेछन् भने शुल्क लिन चाहने विज्ञलाई गाउँपालिकाले न्यूनतम शुल्क व्यहोर्ने छ । विज्ञ व्यक्तिको इच्छाका आधारमा सःशुल्क वा निःशुल्क कक्षा लिने व्यवस्था मिलाइएको पालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले पाठ्यक्रममा उल्लेख भएका विषयवस्तु बाहेक अरू समसामयिक विषयमा विद्यार्थीलाई साप्ताहिकरुपमा ज्ञान दिइने बताउनुभयो । उहाँले पालिकामा प्राप्त भएका प्रस्तावनाका आधारमा विद्यालयसँगको आपसी समझदारीमा समय उपलब्ध गराउने बताउनुभयो । शैक्षिक जागरण अभियान सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष तीन लाख रुपैयाँ छुट्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्