तपाईँ सुन्दै हुनुहुन्छः

खेल पर्यटन प्रबद्र्धन गर्न मुस्ताङ गल्फ कोर्समा आज गल्फ प्रतियोगिता

पोखरा  । खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले हिमालपारिको जिल्ला मुस्ताङमा आज गल्फ प्रतियोगिता २०८० हुँदैछ । लोमाङथाङ गाउँपालिकाको आयोजनामा विश्वकै अग्लो उचाइमा रहेको उक्त स्थानमा दोस्रो पटक एमेचर अन्तर्गत उक्त प्रतियोगिता आज बिहान देखि सुरु हुने भएको प्रतियोगिताका संयोजक इन्द्रधारा विष्टले बताउनु भयो ।

उक्त प्रतियोगितामा गत वर्षका पुरुष तर्फका विजेता काठमाडौंका श्याम तामाङ र महिला तर्फका खेलाडी काठमाडौंकै सुस्मा सिंह लगायतका २९ जना खेलाडीहरू सहभागी हुने भएको उहाँले बताउनु भयो । प्रतियोगितामा मुस्ताङ, पोखरा, धरान, बुटवल, काठमाण्डौं लगायत सहरका खेलाडीहरूको सहभागी हुने भएको संयोजक विष्टले जनाउनु भयो । 

प्रतियोगितामा ४ जना महिला खेलाडी सहभागी हुनुहुने भएको छ । वेस्ट प्रस पिनको सबैभन्दा लामो ड्राइभ र बडीजलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा होल इन वान हान्ने खेलाडीलाई घोडा वा एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको गण्डकी प्रदेशका पूर्व सांसद समेत रहनु भएका संयोजक विष्टले बताउनु भयो । उक्त प्रतियोगितामा १ सय ४५ मिटरको दुरीमा एकै पटकमा पहिलो होल इन वान गर्ने खेलाडीलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । प्रतियोगिताका अन्य विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा पुरस्कृत गरिने भएको संयोजक विष्टले बताउनु भयो ।

गल्फ पर्यटकलाई आकर्षित गरी देशको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने उद्देश्यले उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्न लागेको संयोजक विष्टले बताउनु भयो । आफूहरूले उक्त गल्फ कोर्स विश्वकै उच्च स्थानमा रहेकोले त्यसको गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा समेत दर्ज गर्ने तयारीमा रहेको संयोजक विष्टले बताउनु भयो । उहाँले भन्नु भयो “उक्त कोर्सले अव भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको ३ हजार ९ सय ७० मिटर याक गल्फ कोर्सको पुरानो कीर्तिमानलाई तोड्दै विश्वको सबैभन्दा उच्च उचाइमा रहेको गल्फ कोर्सको रुपमा मुस्ताङ गल्फ कोर्सले नयाँ विश्व रेकर्ड तोड्ने छ । ” । यसवर्ष राष्ट्रिय खेलाडीमा सीमित उक्त प्रतियोगिता आगामी वर्षहरुमा विदेशी खेलाडीहरूको उल्लेखनीय सहभागिता हुने आयोजकले विश्वास लिएको छ । मुस्ताङ गल्फ कोर्सको वर्ल्ड रेकर्ड कायम गराउन र प्रतियोगितालाई विश्व स्तरमा प्रसार गर्न दोस्रो संस्करणको गल्फ प्रतियोगिता कोषेढुंगा सावित हुने व्यवसायीकरण गल्फर भुवन गुरुङले बताउनु भयो ।

समुन्द्र सतहबाट ४ हजार ६ सय ४५ मिटर (१५२३९.५ फिट) उचाइमा रहेको लोक्चाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर गल्फ खेलको सफल परीक्षण समेत भैसकेको छ । गत वर्षको पहिलो प्रतियोगिताले नै विश्वका गल्फ प्रेमीहरूको ध्यान उक्त कोर्सले खिचिसकेको थियो । उक्त प्रतियोगिताले मुस्ताङ क्षेत्रको खेल पर्यटनको प्रचुर सम्भावना रहेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button