तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा क्यान्सर पत्ता लगाउन ‘हिस्टो प्याथोलोजी’ सेवा

नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्दैछ । क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले निकट भविष्यमा हिस्टो प्याथोलोजी सेवा सुरु हुने बताउनुभयो । ‘क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने आवश्यक तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो ।

अस्पतालले हाल आपतकालीन प्रयोगशाला जाँच चौबिसै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा दैनिक ४ सय जनाले परीक्षण गराउँछन् । अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि अब चाँडै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘हिस्टो प्याथोलोजी’ सेवा बिस्तार गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,’ उहाँले भन्नुभयो- ‘भेरीमा यो सेवा सुरु भएपछि क्यान्सर सम्बन्धि बिरामीलाई पनि धेरै राहत मिल्नेछ ।’ हाल बाँकेमै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि हिस्टो प्याथोलोजी सेवा प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button