विद्यालयमा नै जीवन उपयोगी सीप सिक्दै विद्यार्थी

सल्यान । आधुनिकतासँगै समाजका परम्परागत कुरा नयाँ पुस्ताले भुल्दै जान थालेका छन् । जति पनि रैथाने सीप तथा संस्कृति छन् बिस्तारै समाजबाट लोप हुँदै जान थालेका छन् । आधुनिकतासँगै लोप हुन लागेका सीप र व्यवसायलाई संरक्षण एवम् प्रवद्र्धन गर्न सल्यानका विद्यार्थीहरूलाई परम्परागत सीप सिकाउन थालिएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका ५ रिममा रहेको जनज्योति माध्यमिक विद्यालयले पुराना पेसा व्यवसायबारे ज्ञान दिन विद्यार्थीहरूलाई सामेल गराएर सिकाउने र विद्यार्थीमा भएको प्रतिभा उजागर गर्ने कार्यको थालनी गरेको छ ।
विषयगत शिक्षाका अलावा विद्यालयमा व्यवहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढंगले प्रयोगात्मक रुपमा प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीमा पनि परम्परागत सीप सिक्ने आकाङ्क्षा बढ्दै जान थालेको प्रधानाध्यापक भूपाल शाहुले बताउनु भयो ।
नेपाली गाउँघर र ग्रामीण जीवनयापनमा जीवन प्रयोग हुने सालको पातको दुना टपरी गाँस्न विद्यालयमा नै सिकाउने गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘घोकन्ते शिक्षा केही समयमा लागि मात्र हुन्छ तर प्रयोगात्मक शिक्षा दीर्घकालसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिएका छौँ ।’
पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना टपरी बनाउने सीप प्रदान गरिएको प्रधानाध्यापक शाहूको भनाई छ । नेपाली संस्कृति अनुसार चाडपर्व, पूजाआजा, लगायतका कार्यमा दुना टपरीको प्रयोग हुने गर्दछ ।
गाउँघरमा दुना टपरीको प्रयोग गरेको, दुना टपरीमा नै खाएको नभएता पनि टपरी कसरी गाँस्ने थाहा थिएन विद्यालयमा नै सिक्ने मौका पाउँदा निकै खुसी लागेको कक्षा १० मा अध्ययनरत छात्रा चेता रेउलेले बताउनु भयो । उहाँले भन्नु भयो ‘सालको पातलाई कसरी गाँस्ने, कसरी दुना टपरी बनाउने भन्ने बारेमा विद्यालयमा नै सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तरता अघि बढाए भने राम्रो दुना टपरी बनाउन सक्छु जस्तो लाग्छ ।’
यस्तै छात्र विनोद कुमार महतले पनि चाडपर्व तथा मेलापातमा प्रयोग हुने दुना टपरी आफ्नै हातले गाँस्न पाउँदा निकै रमाइलो लागेको बताउनु भयो ।
नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटो मध्यको एक हो दुना टपरी बुन्ने सीप । तर आधुनिकतासँगै भित्रिएको नवीनतम् प्रविधि, औजार उपकरणले यसलाई बिर्सँदै गएको छ नेपाली समाजले ।








प्रतिक्रिया राख्नुहोस्