पोखरामा भुटानको ड्रुक एयरले पहिलो व्यावसायिक उडान गर्यो

पोखरा । पोखरामा भुटानको ड्रुक एयरले पहिलो व्यवसायीक उडान गर्न सफल भएको छ । पोखरामा ८ महिना अघि देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले बताउनुभयो ।
ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ० का दिन पारोबाट पोखरा उडान गर्न अनुमति प्राप्त गरेसँगै शनिबार बिहान ६ः४० मा पोखरा विमानस्थलमा अवतरण गरेको उहाँले बताउनु भयो । भुटानको पारो विमानस्थलबाट आज बिहान ५ः५५ बजे उडान भरेको उक्त विमानमा नेपाली, अमेरिका र भेतनामका ३ जना यात्रु रहेको प्रमुख कर्णले बताउनुभयो । त्यसै गरी पोखरा आएको उक्त जहाज करिब एक घण्टा पछि अधिकांश अमेरिकन, केही भारतीय पर्यटक सहित ४२ जना यात्रु लियर भूटान प्रस्थान गरेको उहाँले जानकारी गराउनुभयो ।
नेपाल सरकारले विमानस्थलबाट दुई प्रकारको राजश्व सङ्कलन गर्ने गरेको उल्लेख गर्दै प्रमुख कर्णले पोखराबाट बाहिरिएका प्रति यात्रु ३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख कर्णले बताउनुभयो । त्यस्तै ग्राउण्ड हेण्डलीङ गर्दाको ५० प्रतिशत मात्र शुल्क लाग्ने त्यो बाहेक पार्किङ, सुरक्षा लगायतमा निःशुल्क रहेको उहाँले बताउनुभयो । उक्त रकम नेपाल एयरलाइन्सलाई दिनुपर्ने जसबाट १५ प्रतिशत पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राप्त हुने विमानस्थलले जनाएको छ । पोखराको नयाँ विमानस्थलमा होल्डीङ गर्न पनि नपर्ने, यात्रुलाईसमेत सुविधाहरू हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छोटो दुरीका हवाई उडान गर्नको लागि आग्रह गरेको प्रमुख कर्णले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा भुटानको डुक एयरका सिनियर क्याप्टेनलाई पोखरामा आउन आग्रह गरे अनुसार उहाँको टिम पोखरामा आएसँगै निकै उत्साहित भएको आगामी दिनमा पुनः उडान गर्ने भएको उहाँले विश्वास व्यक्त गर्नु भयो । डुकको न्यारोबडी जहाज जुन १ सय ५० सिटरको रहेको थियो ।
भुटानको अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएसँगै पोखरा आउने र पोखराबाट भुटान जाने पर्यटकहरूलाई विमानस्थलमा पोखराका पर्यटन व्यवसायीहरूले स्वागत तथा बिदाई गर्नु भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । स्वागत तथा बिदाइ कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखराका मेयर धनराज आचार्य, मन्त्रालयका सचिव कुलमान गुरुङ लगायतको सहभागिता रहेको थियो ।
यसअघि चीनको छेन्दुकबाट आएको सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ड्रागन बोर्ट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलसहितको टोली चार्टर मार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भए पछि हाल भुटानबाट भने व्यवसायीक उडान भएको हो ।
चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको प्राधिकरणले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको थियो । करिब २३ अर्ब ऋण लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न नसके पोखरेली र नेपाललाई नै यसले आर्थिक रुपमा ठुलो असर पार्ने पोखरेलीहरूले गुनासो गर्दै आउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्