लगानीको सुरक्षा प्रत्याभूति सरकारले गर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
लगानी बोर्डको १२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकको विकास आवश्यकता पूर्ति गर्न लगानी चाहिने र सरकारले सबै खालका लगानीको सुरक्षा प्रत्याभूति गर्ने बताउनुभयो ।

नेपालमा सार्वजनिक–निजी साझेदारी, प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको लगानी बढाउनका लागि नीति, नियम तथा कानुनमा सुधार, प्रक्रियागत सहजीकरण तथा संस्थागत क्षमता विकासका लागि सरकार तयार रहेको उहाँको भनाइ छ ।
लगानी बोर्डअन्तर्गत अघि बढिरहेका ठूला लगानीका आयोजनालाई सहजीकरण गर्न सरकार र मातहतका सबै निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । लगानी बोर्डको कार्यालयले सीमित जनशक्ति र स्रोत–साधनका बाबजुद पनि महत्त्वपूर्ण काम गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
लगानी बोर्डको कार्यालयको संस्थागत क्षमता विकासका लागि पनि सरकारले पहल गर्ने उहाँले बताउनुभयो । सार्वजनिक–निजी साझेदारी ऐनले लगानी बोर्डलाई लगानी प्रवर्द्धन र सहजीकरणका लागि स्रोत केन्द्रका रूपमा स्थापना गर्ने उद्देश्य राखेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेपालले सन् २०२६ सम्ममा अल्प विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने लक्ष्य राखेको भए पनि कोभिड–१९ महामारी लगायतका कारण यी लक्ष्य प्राप्तिमा केही समस्या देखिएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी सुशील भट्टले स्थापनाको १२ वर्ष अवधिमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजनामा रू १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत गरेको बताउनुभयो । हालसम्म बोर्डमार्फत रू पाँच खर्ब २५ अर्ब बराबरको लगानी परिचालन भएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्