तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले अझै देखिने गरी काम गर्दैछ : प्रधानमन्त्री प्रचण्ड

रुपन्देही । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरू समाजवादी मोर्चामा भएकाले मोर्चाको भविष्य रहेको बताउनुभएको छ ।

सरकारमा बस्नका लागि कुनै शक्तिसँग अनुचित सम्झौता नगर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारले पछिल्लो समय जनताका पक्षका देखिने गरी काम गरिरहेको बताउनुभयो ।

बुटवलमा समाजवादी मोर्चा नेपाल लुम्बिनीको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले सरकारमा बस्नका लागि देश र जनताका लागि अहित हुने कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । सरकारलाई असफल बनाउन प्रमुख प्रतिपक्ष दलले अनेकौँ समस्या अगाडि बढाएको बताउँदै उहाँले ती समस्यालाई क्रमशः समाधान गरिने बताउनुभयो ।

उहाँले एमसिसिका विषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै देशको स्वाधीनता र राष्ट्रिय हितका लागि अघि बढ्ने बताउनुभयो । उहाँले यसलाई अनुदानका रुपमा लिएर देशको हितमा विकास गर्ने गरी योजनालाई अगाडि बढाउने तर देश र जनतालाई अहित हुने कुनै अवस्था आए तत्काल विरोध गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले परिवर्तन उल्ट्याउन खोज्नेहरू विरुद्ध समाजवादी मोर्चा बनेको बताउँदै अहिले प्रतिक्रियावादी शक्तिहरू जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेकोले सबै सचेत हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा दोहोरिनका लागि मात्रै नभई देशमा केही गर्ने गरी बनेको बताउँदै उहाँले सुशासनको पक्षमा सरकारले काम गरेकोले आम जनतामा केही हुन्छ की भन्ने आशा र भरोसा जागेको स्पष्ट पार्नुभयो । अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भए पनि जनताको पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबारदेखि नेपालमा लागू हुन लागेको एमसीसी परियोजना नेपालको हित विपरीत भए मान्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले संसदमा छलफल गरी अघि बढाइएको परियोजनालाई कसैले तोडमोड गर्न र नेपालको हित विपरीत बनाउन खोज्न नहुने बताउनुभयो ।

नेपालमा कम्युनिष्ट पार्टीहरूप्रति जनताको भरोसा रहेको जनाउँदै उहाँले समाजवादी मोर्चामा रहेका तीन पार्टी कम्युनिष्ट नै रहेको र जसपाको पनि इतिहास कम्युनिष्ट नै रहेको बताउनुभयो । समाजवाद र परिवर्तनका लागि मोर्चाको स्पष्ट दृष्टिकोण भएकाले सबैतिर ऊर्जा थपिएको र यो मोर्चाले समाजवादको लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले अहिलेको सरकारले गरेका राम्रा काममा मोर्चा र आफ्नो पार्टीले हातेमालो गरेको तथा केही कमजोरी भए खबरदारी गर्ने बताउनुभयो ।

सन्देश सभामा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका कार्यकारिणी सदस्य राजकिशाेर यादव लगायतले समाजवादी मोर्चाको उद्देश्यबारे धारणा राख्नुभएको थियो ।

मङ्गलवार मोर्चामा आबद्ध ४ दलबाट तीन/तीन जना सदस्य रहेको १२ सदस्यीय प्रदेश संरचना घोषणा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button