जलजलाको कुवापानीको पहिरोले खेतीयोग्य जमिनलाई बनायो बगर, बस्ती जोखिममा

म्याग्दी । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ पूर्णगाउँ, मुलघडेरी, नेपानेको खेतीयोग्य जमिन बगर बनेको छ । वडा नम्बर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो ।
असार ११, २३ र साउन ६ गते बर्षातपछि कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको बाढीले सात घर परिवार विस्थापित र सयौँ रोपनीमा लगाएको खेती नष्ट गर्दै जमिनलाई बगर बनाएको पहिरोबाट विस्थापित मुलघडेरीका पदम कार्कीले बताउनुभयो । उहाँले पहिरोले मेरो ६० रोपनी जग्गा बगर बनाएको भन्नुभयो ।

“बाढीले मुलघडेरी बस्ने पदम कार्की, नगेन्द्र कार्की, रविन मगर, डम्मर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबहादुर कार्कीको घर जोखिममा परेपछि विस्थापित भएका छन्, खेतीयोग्य जमिन पूर्ण क्षति पु¥याएको छ”,– पदम कार्कीले भन्नुभयो । “साउन ६ गते आएको बाढीले सबभन्दा धेरै क्षति पुर्याएको छ । बाढीले सात घरपरिवार खाना घरमा र रातमा बस्न नवजागरण महिला आमा समूहको भवनमा जान्छौ ।”
डेढ महिनाको अवधिमा स्थानीय, प्रदेश र संघका सांसद र मन्त्रीहरू आउनुभए पनि संरक्षण र नियन्त्रणको ठोस योजना नआएको पहिराबाट विस्थापित पीडित कार्कीले बताउनुभयो । आकाशबाट पानी पर्ने बित्तिकै लेदो सहितको बाढी आउँदा भागाभाग हुने गरेको डम्मरबहादुर खत्रीले बताउनुभयो । “लेदोले मकैबाली नष्ट गरेको छ, सडकमा खोल्सा बनाएको छ भने बराह मन्दिर ताल पुरेको छ”, उहाँले भन्नुभयो । “लेदोले पुरिएपछि धान र कोदो रोपाई गर्न पाएका छैनौ। क्षतिपूर्ति पनि पाउन सकेका छैनौ ।”
पहिरो निरीक्षण गर्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताउनुभयो । उहाँले बाढी पहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने बताउनुभयो । “कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ”, उहाँले भन्नुभयो । “यो पहिरोबाट थप क्षति हुन नदिन संरक्षण काम र पुरिएको बराह ताल माटो फाल्ने र सडक स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिएर स्टिमेट अनुसार बजेट विनियोजन गर्न प्रदेश सरकारसँग पहल गर्छौ ।”

जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले मानवीय क्षति नभएपनि भौतिक क्षति ठुलो भएको बताउनुभयो । यस पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठुलो क्षति पुर्याउने देखिएकोले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठुलो बस्ती जोगाउन भू तथा जलाधार व्यवस्थापन कार्यालय पूर्वाधार विकास कार्यालयबाट स्टिमेट तयार पारेर तत्काल बजेट छुट्याउने काममा पहल हुने बताउनुभयो ।
दुई कार्यालयले तयार पारेको स्टिमेट अनुसार बजेट विनियोजन गर्न मुख्यमन्त्री तयार रहेको निवर्तमान अध्यक्ष मल्लले बताउनुभयो । उहाँले आगामी दिनमा स्थानीय, प्रदेश र सङ्घसँग समन्वय गरेर थप क्षति हुन नदिन संरक्षण काम गरिने उल्लेख गर्नुभयो ।
तत्काल बाढी नियन्त्रणको काम हुन नसके भविष्यमा ठुलो जनधनको क्षति हुने स्थानीयवासी बताउँछन् ।









प्रतिक्रिया राख्नुहोस्