नेपालगन्जका सडकमा छाडा पशुचौपायाको बिगबिगी, दुर्घटना बढाउँदै

नेपालगन्ज । नेपालगन्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तु लगायत छाडा चौपायाको बिगबिगी बढेको छ । सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना बढ्न थालेका छन् ।
सहरको मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक लगायत सुर्खेतरोड र सदरलाइनमा छाडा घोडा, खच्चड र गाईगोरु बाक्लो सङ्ख्यामा भेटिने गरेका छन् । यी क्षेत्रमा सवारी दुर्घटनाको जोखिमसँगै सर्वसाधारणलाई सडक किनारमा हिँड्न तथा सडकमा सवारी चलाउन निकै समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले छाडा चौपायाले दिउँसो र राति सवारी दुर्घटना बढाउने समस्या देखिएको बताउनुभयो ।
नेपालगन्जमा छाडा चौपाया राख्नका लागि कान्जीहाउस सञ्चालनमा रहे पनि उचित प्रयोग हुन सकेको छैन । उक्त समस्या समाधान गर्न बृहत् गौशाला निर्माण गर्नुपर्ने माग उठेको छ । नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले छाडा चौपायाको समस्या समाधान गर्न निरन्तर रूपमा विभिन्न प्रयास भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्