तपाईँ सुन्दै हुनुहुन्छः

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रवार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्प्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । 

“प्रविधिको विकाससँगै बैङ्क तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैङ्कले लिएको छ”, उहाँले भन्नुभयो । 

बैङ्क र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उहाँको भनाइ छ । राष्ट्र बैङ्कले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्ग निर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैङ्क तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिन सके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताउनुभयो । 

नेपाल बैँकर्स सङ्घका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैङ्क र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष केसीले बैङ्क तथा वित्तीय क्षेत्रले वार्षिक रु ४० अर्ब राजश्व बुझाउने गरेको र झन्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button