तपाईँ सुन्दै हुनुहुन्छः

सीटीइभीटीको प्रवेश परीक्षामा २६ हजार बढी सहभागी, नतिजा एक सातामै

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटीले प्रवेश परीक्षा आज सञ्चालन गरेको छ ।
१५ हजार छ सय सिटका लागि ३१ हजार ३ सय ४७ विद्यार्थीले फारम भरेकामा ८५ प्रतिशत अर्थात् २६ हजार छ सय भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

प्रवेश परीक्षाका लागि चिकित्सा शिक्षा आयोगबाट कोटा निर्धारण भई आएका स्वास्थ्य तर्फका नर्सिङ, हेल्थ असिस्टेन्ट(एच.ए.) र फार्मेसी लगायतका विषय पढ्ने विद्यार्थी सहभागी भएका हुन् ।

त्यसैगरी सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयबाट तोकिएको मापदण्ड अनुसार बाँकी आठ विषयको प्रवेश परीक्षा सञ्चालन गरिएको हो ।

शनिबार बिहान ४२ जिल्लाका ८३ वटा केन्द्रमा शान्तिपूर्ण र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको सीटीइभीटी परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोद भक्त आचार्यले बताउनुभयो ।

परीक्षा नियन्त्रक आचार्यका अनुसार परीक्षाफल एक सातामा प्रकाशित गर्ने गरी गृहकार्य अघि बढाइएको छ । दुई साता अघि निर्धारित परीक्षा स्थगित भई आज सञ्चालन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button