तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा बाढीका कारण जोखिममा रहेका विद्यालय, बजार र पुल जोगाउने प्रयास

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण शुक्रवार हेलम्बु गाउँपालिका ४ मा रहेको सरस्वती माविको भवन बगाएपछि अन्य भवन र बस्ती जोगाउन जनप्रतिनिधि र स्थानीयहरूले पहल थालेका छन् ।

बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समीर) बाढीबाट प्रभावित हेलम्बु —४को सरस्वती माध्यमिक विद्यालय, चनौटेको बेलिब्रीज र चनौटे बस्ती संरक्षणका लागी आफैँ फिल्डमा खटिनुभएको छ । 

विद्यालय भवन र बस्ती जोगाउन सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ख का बागमती प्रदेशसभा सदस्य तामाङ र स्थानीयले पहल थालेका हुन् । 

खोलालाई थप बस्तीमा पस्न नदिन तार जालीमा ढुङ्गा भरेर हाल्ने काम सुरु भएको प्रदेशसभा सदस्य तामाङका स्वकीय सचिव विशाल राउतले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको तार जालीमा ढुङ्गा भरेर थप क्षति हुन नदिन काम भइरहेको उहाँले बताउनुभयो ।  

सरस्वती मावि र चनौटे बजारलाई संरक्षण गर्न समितिले  तार जाली उपलब्ध गराएको छ । सरस्वती मावि र ग्याल्थुम बजारमा बाढी पस्न नदिन ७५ थान जालीमा जनप्रतिनिधि, स्थानीय , सेना, सशस्त्र प्रहरीले ढुङ्गा भर्न थालेका छन् । 

यस्तै, चनौटे बजार र चनौटेमा रहेको बेलिब्रिज जोगाउन  तार जाली आजै भरिने पनि स्वकीय सचिव राउतले जानकारी दिनुभयो । 

जेसिबीको सहायताले खोलालाई बस्तीमा छिर्न नदिन काम थालिएको छ । त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा यस क्षेत्रका सांसद मोहनबहादुर बस्नेतले पनि आज बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button