नगरले खरिद गरेको प्याडमा गुणस्तर चिन्हमा कम्पनीको छलछाम

नवलपरासी । बर्दघाट नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क उपलब्ध गराउन खरिद गरेको सगुन ब्राण्डको प्याडमा गुणस्तर चिन्हको दुरुपयोग भएको खुलेको छ । विद्युतीय बोलपत्र (ई-टेन्डर) मार्फत खरिद गरिएको एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा.लि रुपन्देहीले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नु पूर्व नै उत्पादन भएका प्याडका प्याकेटमा एन एस को छाप हानेर पठाएको पाइएको छ ।
सामुदायिक विद्यालयमा पढ्ने छात्राहरूका लागि यस अघि विद्यालय आफैले खरिद गरी उपलब्ध गराउँदै आएमा यसपटक खरिदका लागि भने नगरपालिकाले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति बनाएको थियो ।
समितिको २०७९ फागुन १५ गते बसेको बैठकले सेनेटरी प्याड खरिद प्रक्रियाको सम्बन्धमा छलफल गरी नेपाल सरकारले तोकेका मापदण्डमा नेपाल गुणस्तर चिन्ह प्राप्त सेनेटरी प्याड खरिद गर्नका लागि प्रक्रिया अगाडि बढाएको समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । नगरपालिकाले २०७९ फागुन २२ गते १ महिनाको म्याद राखी सूचना प्रकाशन गरी भ्याट बाहेकको रकम ३० लाख ९१ हजार ४ सयमा नबढ्ने गरी विद्युतीय बोलपत्र आव्हान गरेको थियो ।
नगरपालिकाले तोकेको मापदण्डमा रहेर प्याड उपलब्ध गराउनका लागि ५ वटा फर्मले विद्युतीय बोलपत्र पेश गरेको सबैभन्दा कम भ्याट बाहेक २२ लाख ६७ हजार ५ सय ६५ रुपैयाँ दररेट पेश गर्ने एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा।लि रुपन्देहीले बोलपत्र हात पारेको हो । बोल पत्र हात पारेको एजीले प्याड उपलब्ध गराउँदा भने गम्भीर खेलबाड गरेको छ । कम्पनीले उपलब्ध गराएको प्याडमा समस्या भएको छात्राहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ एजीले सगुन ब्राण्डको प्याडमा एन एस चिन्ह प्राप्त गरेको मिति भन्दा छ महिना पहिले नै उत्पादन भएका प्याडहरूमा एन एस छाप हानेर पठाएको छ ।
एजी हेल्थको सगुन ब्राण्डको सेनेटरी प्याडले २०७९ चैत्रमा एन एस चिन्ह प्राप्त गरे पनि भदौ÷असोजमा उत्पादन गरेको प्याडमा समेत एन एस चिन्हको छाप हानेको छ । त्यतिमात्रै होइन उपभोक्ताहरूलाई छल्नका लागिनै एन एस चिन्ह २०७७ को छाप सेनेटरी प्याडहरूमा हानेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र सङ्ख्या १०४७ अनुसार मिति २०७९ चैत्र ८ गते देखी १५ दिन भित्रमा गुणस्तर चिन्ह ९एन एस० नम्बर ५८७ मार्किङ गरेको उल्लेख छ । तर कम्पनीले भने एन एस नम्बर उही कायम गरी २०७७ थपेर छाप हानेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जीव कुमार ठाकुरले एन एस चिन्ह पाएको भन्दा पहिले उत्पादन गरेको सामाग्रीमा एन एसको छाप लगाउन नपाइने बताउनुभयो ।
एजी हेल्थका निर्देशक डोलप्रसाद अधिकारीले सगुन ब्राण्डको प्याडले कुन मितिमा एन एस चिन्ह प्राप्त गरेको हो भन्ने आफूलाई थाहा नभएको बताउनुभयो । “ चैत्र अन्तिम तिर एन एस प्राप्त गरेको हो मिति थाहा छैन । छोरा छोरी जन्ममिति त याद हुँदैन अब यस्तो मिति कसरी याद हुनु ।”अधिकारीको भनाई छ।
एजीले सगुन ब्राण्डको प्याडमा एन एस २०७७ को लोगो हानेको विषयमा जिज्ञासा राख्दा “गलत भए सम्बन्धित निकायले हेर्छ तपाइहरूले टाउको दुखाउनु पर्दैन । ” अधिकारीले झर्केर जवाफ दिइरहँदा नेपाल गुणस्तर तथा नापतौल विभागका उप–महानिर्देशक ज्योति जोशी भट्टले प्याडमा हानेको छाप गलत भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ एन एस चिन्ह र नम्बर प्रष्ट बुझ्ने गरेर कभरमा प्रिन्ट गर्नुपर्छ पछि छाप हान्ने होइन ।”
बोलपत्रको विद्युतीय फारम भर्ने समय सम्म नेपाल गुणस्तर चिन्ह प्राप्त गरि नसकेको एजी हेल्थले चिन्ह पाउने आसय पत्र पेश गरेको थियो । नगरपालिकाले सम्झौता गर्ने समय अवधि सम्म एन एस प्राप्त गरेको प्रमाण पेश नगरे सम्झौता रद्द हुने भनी निर्णय गरेपनि सम्झौता भएर रकम भुक्तानी गरिसक्दा पनि एन एस प्रमाण पत्र उपलब्ध नगराएको योजना शाखा प्रमुख एवं सूचना अधिकारी पुस्कर काफ्ले बताउनुभयो ।
प्याडको गुणस्तरको विषयमा प्रश्न उठेपछि नगरपालिकाले यसको गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन गरी विभागमा पठाएको छ । नगरपालिकामा एन एस प्राप्त गर्नु पूर्व उत्पादन भएका प्याडको बारेमा जिज्ञासा राख्दा सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले विद्युतीय बोलपत्र पछि कमसल भएको केही गुनासा आएको बताउनुभयो ।
“कानुनी जटिलताका कारणले खरिद प्रक्रियामा गइसकेपछि ब्याक हुन सकिएन र एन एस चिन्ह को छाप हानेको प्याड खरिद गर्ने निर्णय गरियो । गुणस्तरहीन भएको गुनासो आएपछि नगरले परीक्षणका लागि विभाग पठाएको छ रिपोर्टमा गुणस्तरहीन सावित भए कम्पनी कारबाहीको भागिदार हुन्छ” उपाध्यायको भनाई छ ।नगरको सम्बन्धित शाखा नै एन एस प्राप्तको विषयमा अलमलमा परेको देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्