तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालतद्वारा नगर प्रमुख साम्पाङ विरुद्ध अन्तरिम आदेश

सुनसरी । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

पर्यटन व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङ विरुद्ध रिट दायर गरेका थिए । धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले गत साउन ६ गते अधिकारी दम्पतीको उक्त जग्गामा वृक्षारोपण गरेका थिए ।

सोमबार साम्पाङ पुनः त्यही जग्गामा पुगेपछि अधिकारी दम्पतीले प्रतिवाद गरेको विवादपछि साम्पाङले आफूमाथि अधिकारी दम्पतीले दुर्व्यवहार गरेको भन्दै प्रशासनमा उजुरी पनि दिएका थिए ।

उजुरी परेपछि अधिकारी दम्पतीले पनि निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर रिट दायर गरेका थिए ।

उक्त जग्गा साम्पाङले सर्दु जलाधार क्षेत्रको भएको दाबी गरे पनि सो जग्गाको रोजिना अधिकारीको नाममा धनी पुर्जा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button