पोखरामा पनि गौरा पर्व मनाइयो

पोखरा । विशेष गरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्व पोखरामा पनि मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं बिकास समाजले यस वर्षको गौरा पर्व विरुडा खादै गौरा देवीको पूजा गरी डेउडा खेलेर मनाइएको हो ।
कार्यक्रममा कुश, कास, सामा, तीतेपाती र तिलको बोटबाट बनाइएको बोटको गौराको प्रतिमा र केराउ, गहद, मास, गहुँ लगायत पाँच किसिमका गेडागुडी भिजाएर तयार पारिएको विरुडाको प्रसाद ग्रहण गरी डेउडा खेलिएको समाजका अध्यक्ष सागर ऐरले बताउनु भयो । यस पर्वको महत्त्व बुझेर सरकारले सार्वजनिक बिदा दिनुपर्ने उहाँले माग गर्नु भयो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले गौरा पर्व ऐतिहासिक र सांस्कृतिक मात्र नभई एकताको सुत्रमा बाँध्ने पर्वको रुपमा रहेको बताउनुभयो । उहाँले सांस्कृतिक विविधता रहेको हाम्रो समाजमा सुदूरपश्चिमवासीको गौरा पर्व मनाउने प्रचलनले पोखरालाई थप सुन्दरता प्रदान गरेको बताउनुभयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको सांसद थापाले बताउनु भयो ।

त्यसैगरी पोखरा विश्वविद्यालयका डिन प्रा. राजेश कुमार ठकुराठीले गौरा पर्वको ऐतिहासिक महत्वको बारेमा प्रकाश पार्दै सुदूरपश्चिमका महिलाहरूको विशेष पर्व रहेको जानकारी दिनुभयो । त्यस्तै समाजका सल्लाहकार डा.पदम खड्काले नेपालका सांस्कृतिक पर्व मध्ये गौरा पर्वको इतिहास अझ गर्विलो रहेको बताउँदै सबै नेपालीले मनाउनु पर्ने बताउनुभयो ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउ भनी भाद्र महिनामा घना जङ्गलमा गई जनावरको डर नमानी तपस्या गर्दा फल प्राप्त भएको दिनलाई गौरा पर्वको रुपमा सुदूरपश्चिमका महिलाहरूले विशेष रुपमा मनाउने प्रचलन रहेको छ । सो पर्वमा घर टाढा रहेको परिवारका सदस्य एवं आफन्तजन घर फर्की आउने र पर्व मनाउने चलन रहिआएको छ । यस पर्वमा मिठो मिठो खाने र परिवार तथा आफन्तहरूको पुनर्मिलन हुने पर्वको रुपमा समेत लिने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्