लुम्बिनीमा प्रदेश अधिवेशनको प्रतिनिधि छनौट सुरु, आकाङ्क्षी धेरै हुँदा निर्वाचनको तयारी

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौटको प्रक्रिया सुरु भएको छ । भदौ ९ गते शनिबार प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसङ्गठनबाट गरिने प्रतिनिधि छनौटका लागि आवश्यक प्रक्रिया सुरु भएपछि गाउँ, नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयमा आकाङ्क्षीहरूको भीड लागेको छ ।
केही पालिका र जनसङ्गठनमा निर्विरोध रुपमा प्रतिनिधि छनौट भएपनि अधिकांश ठाउँमा आकाङ्क्षी धेरै भएकाले निर्वाचनबाटै जानुपर्ने अवस्था आएको नेताहरूले बताएका छन् । प्रदेशमा १ हजार ४ जना प्रतिनिधि रहनेछन् । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकै पटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित हुनुपरेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो।
बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेललगायतका नेताहरू आउने निश्चित भइसकेको छ ।
प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रतिनिधि छनौटका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै सर्वसम्मत भएका क्षेत्रहरूमा आज नै घोषणा गर्ने र नभएका ठाउँमा भोलि शनिबार बिहान ७ बजे एकै पटक निर्वाचनबाट छानिने बताउनुभयो । कुल ८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजार ४ जना प्रतिनिधि छनोटका लागि यो प्रक्रिया सुरु भएको हो । प्रदेश कमिटी सदस्य मोहन चापागाईँले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको जनाउनुभयो। उहाँले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको जानकारी दिनुभयो ।
अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसंग मिडियामार्फत सहयोगको लागि अन्तरक्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उद्घाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्बिनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेबसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
यो पटक अधिवेशनमा प्रतिनिधि छानिन एमालेले केही कडा नियम बनाएको छ । पार्टी केन्द्रबाट २०८० सालको नवीकरण भई प्रमाणित भएको सदस्यता विवरणका आधारमा छनौट गर्ने, प्रतिनिधि छनौटको आवश्यक योजनासहितको व्यवस्थापन जिल्ला कमिटीले गर्ने, प्रतिनिधि छनौटको इकाई (क्षेत्र) गाउँपालिका÷नगरपालिका र उपमहानगर पालिकालाई बनाउने १०० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गर्ने, १५० भन्दा बढी सदस्य भएको खण्डमा २ जना, २५० जना सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्ने, यसरी ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने विधि बनाइएको छ ।
त्यसैगरी दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य सङ्ख्या बराबर १ जना प्रतिनिधि हुने, शेष सङ्ख्या ५० प्रतिशतभन्दा धेरै भएमा थप १ जना प्रतिनिधि हुने, हरेक ३ जनामा १ जना महिला अनिवार्य हुनुपर्ने, २ जना मात्र प्रतिनिधि भएका १ जना महिला अनिवार्य, ५ जना प्रतिनिधि भएमा २ जना महिला, ८ जना भएमा ३ जना महिला अनिवार्य हुनुपर्ने र यसरी जम्मा हुने प्रतिनिधि सङ्ख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने विधि बनाइएको छ ।
प्रतिनिधि छनौट गर्दा दलित समुदायको सङ्ख्या घटाएर मात्र अन्यको गणना हुनेछ । दलित सदस्यले अन्य तथा खुल्लामा जान चाहेमा प्रतिनिधि छनौटको दिनभन्दा ३ दिन अगावै जिल्ला कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसैगरी जनसङ्गठनको हकमा महासङ्घ भएकोबाट ५ जना र अन्य जनसङ्गठनहरूको हकमा ३ जना प्रदेश कमिटीबाट छनौट गर्नुपर्ने, प्रतिनिधि छनौट गर्दा समावेशीलाई ध्यान दिने, अनेमसंघ बाहेक अन्य जनसङ्गठनहरूमा प्रतिनिधि ५ जना हुनेबाट २ महिला र ३ जना हुनेबाट १ महिला अनिवार्य हुनुपर्ने, जनसङ्गठनको प्रतिनिधित्व गर्न पार्टी सदस्य भएको र २०८० सालको नवीकरण भई प्रमाणित गरेको सूचिमा नाम भएको हुनुपर्ने नियम बनाइएको छ ।
अधिवेशनका लागि लुम्बिनी प्रदेशको समृद्धि र विकासको अवधारणा पत्र तयारीका लागि पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरी संयोजक तथा सदस्यमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य समेत रहेको कमिटी गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिवद्वय लिला राना र दुर्गाप्रसाद थारु एवं जिल्ला कमिटीका अध्यक्षहरू सदस्य रहने गरी १७ सदस्यीय मूल व्यवस्थापन कमिटी, राजनैतिक, सांगठिनक तथा आर्थिक प्रतिवेदन तयारीका लागि संयोजक राधाकृष्ण कँडेल, सदस्य भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लिला राना र दुर्गाप्रसाद थारुलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी अतिथि सत्कार संयोजक भोजप्रसाद श्रेष्ठ, स्वास्थ्य समिति संयोजक बाबुराम भट्टराई, सांस्कृतिक उपसमिति संयोजक सिन्धु जलेशा, कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति संयोजक लक्ष्मण आचार्य, सदस्य बालकृष्ण पाण्डे, प्रचार प्रसार समिति संयोजक डी।आर। घिमिरे, सदस्य मोहन चापागाईँ, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे, प्रदीप आचार्य, शोभाखर पन्थी, निरु गौतम, मञ्च व्यवस्थापन र स्वयंसेवक परिचालन संयोजक पुरन गुरुङ, सहसंयोजक तुलबहादुर अधिकारी, आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक तेजेन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकाङ्क्षी धेरै भएपनि प्रतिनिधि छनौटमै फालिने डरले बोलेका छैनन् । अहिले ६ सयभन्दा माथिको प्रदेश कमिटीलाई अब २ सय ५० को सङ्ख्यामा बनाइने भएकाले पनि यसमा धेरैको चासो बढेको एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताउनुभयो । उहाँले सकेसम्म सहमतिमै नेतृत्व छान्ने र सम्भव नभए निर्वाचनबाट टुङ्गो लगाउने जनाउनुभयो । प्रदेशको पहिलो अधिवेशन भएकाले पनि लुम्बिनीबाट पार्टीले नयाँ सन्देश दिन खोजेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्