तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा १ महिनाको अवधिमा ९८ जना डेंगु रोगका बिरामी फेला

धनगढी । कैलालीमा १ महिनाको अवधिमा ९८ जना डेंगु रोगका बिरामी फेला परेका छन् । 

स्वास्थ्य कार्यालयद्वारा आज धनगढीमा आयोजित सञ्चारकर्मीको अन्तरक्रिया कार्यक्रममा कैलालीमा १ महिनाको अवधिमा ९८ जना डेंगु रोगका बिरामी फेला परेको जानकारी दिइएको छ । 

स्वास्थ्य कार्यालयका फोकल पर्सन मिनबहादुर धामीले साउन देखि हालसम्म ९८ जना डेंगु सङ्क्रमित भेटिएको बताउनुभयो । जिल्लाभर डेंगुको सङ्क्रमण देखिएको जानकारी दिँदै उहाँले सेती प्रादेशिक अस्पताल र टिकापुर अस्पताल तथा विभिन्न निजी अस्पतालमा गरिएको जाँचमा डेंगु रोगका बिरामी भेटिएको बताउनुभयो । 

डेंगुको सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहलगायत सरोकारवाला निकायसँग सहकार्य गरी लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ । 

प्रत्येक साताको एक दिन ‘बिहान १० बजे १० मिनेट’ कार्यालय तथा सार्वजनिक स्थल लगायतका ठाउँमा सरसफाइ गर्ने, लार्भा खोज र नष्ट गर्ने कार्य हुँदै आएको धामीले बताउनुभयो । 

पोथी जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगु किटजन्य रोग हो । यसका लक्षण देखिए तत्काल स्वास्थ्य जाँच गर्न र लामखुट्टेको टोकाइबाट सुरक्षित रहने उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।

कैलालीमा गत वर्ष डेंगुबाट ३ जनाको ज्यान गएको थियो ४ सय ५५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button