बागमती प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सरकारको श्रम तथा रोजगार नीति सार्वजनिक भएको छ ।
सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संयुक्त रुपमा प्रदेश श्रम तथा रोजगार नीति–२०८० सार्वजनिक गर्नुभएको हो ।

हेटौँडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर प्रदेश सरकारले करिब साढे २ वर्ष लगाएर तयार पारेको उक्त नीति सार्वजनिक गरिएको हो । प्रदेशको श्रम नीतिमा प्रतिस्पर्धी जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकूल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवम् स्वरोजगारीका अवसर प्रदान गर्ने लक्ष्य उल्लेख गरिएको छ । श्रमिकको अधिकारको रक्ष तथा श्रम प्रशासनको सुदृढीकरण गर्ने, श्रम बजारको विकास एवम् रोजगारमूलक क्षेत्रमा लगानी प्रोत्साहित गर्ने र वैदेशिक रोजगारलाई सुव्यवस्थित गर्न सहकार्य अभिवृद्धि गर्ने उद्देश्य नीतिमा उल्लेख गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले प्रदेश सरकारले रोजगारी सृजना गर्ने नीति अगाडी सारेको बताउनुभयो । उहाँले प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताउनुभयो । प्रदेश सरकारले १४ करोड बजेट छुट्टाएर त्यसबाट २० हजार जना किसानलाई रोजगारीमा जोडिने दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संविधानको अधिनमा रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताउनुभयो । उहाँले नीतिको कार्यान्वयनका लागि मन्त्रालयले नियम, कानून र मापदण्ड बनाएर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव तीर्थराज भट्टराइले प्रदेशको श्रम तथा रोजगार नीतिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्