तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालले सञ्चार ग्रामबाट महानगर एफएम प्रसारण आरम्भ गर्दै

विराटनगर । आगामी असोज महिनाको पहिलो हप्ताबाट तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम रेडियो नेपालबाट विराटनगर महानगर एफएमको प्रसारण आरम्भ हुने भएको छ ।

तारिणी प्रसाद कोइराला स्मृत सञ्चार ग्राम सञ्चालक समितिको बैठकले विराटनगर–४ स्थित खार्जीमा रहेको सञ्चार ग्रामबाट महानगर एफएमको प्रसारण आरम्भ गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम स्थापना तथा सञ्चालन निर्देशिका–२०७८ मा भएको व्यवस्था बमोजिम महानगर एफएम प्रसारण आरम्भ गर्न लागिएको र त्यसको तयारी भैरहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पूर्वको साहित्य कला, संस्कृति जगेर्ना गर्दै गीत सङ्गीत रेकर्डिङका लागि स्थापना भएको सञ्चार ग्रामबाट महानगर एफएम प्रसारण हुनु खुसीको कुरा भएको उल्लेख गर्दै महानगर एफएमबाट महानगरका गतिविधि लगायत सबै जानकारी महानगरवासीले पाउनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले महानगर एफएम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्दै सञ्चार ग्राममा बाँकी रहेका सबै काम चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरपालिका र रेडियो नेपाल बिचको समझदारी पत्रमा उल्लेख भएअनुसार एफएम सञ्चालन हुन लागेको र त्यसका लागि महानगरपालिकाले हर प्रकारको सहयोग गर्ने बताउनुभयो ।

तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामका निर्देशक पुष्करराज गौतमले महानगर एफएम सञ्चालनका लागी रेडियो नेपालले प्राविधिक तथा सम्पुर्ण व्यवस्थापनको तयारी पुरा गरिसकेको बताउनुभयो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीले महानगर एफएमको प्रसारणले कोशी प्रदेशको कला, संस्कृति साहित्यको विकासमा बल पुग्ने बताउनुभयो ।

तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामका निमित्त कार्यालय प्रमुख बलराम चौधरीले महानगर एफएम प्रसारणले सबै जातजाति र समुदायको भावनालाई सम्बोधन गर्ने बताउनुभयो ।

त्यसैगरी आजै कार्यालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सञ्चार ग्रामबाट प्रसारण हुन लागेको महानगर एफएमलाई सफल बनाउँदै आफ्नो जिम्मेवारी सबैले इमानदारिताका साथ पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।महानगर एफएम प्रसारण गर्ने रेडियो नेपालको सपना पुरा हुन लागेकाले अब सबै मिलेर त्यसलाई साकार बनाउनुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका कार्यक्रम अधिकृत नयराज नेपालले रेडियो नेपालबाट प्रसारण हुन लागेको महानगर एफएमलाई प्रभाकारी बनाउन आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button