तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारका दोषी जो कसैलाई छोड्दैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका दोषी जो कसैलाई नछाड्ने बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले शनिवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्ट्राचारका दोषी ठहरिए आफ्नै पार्टीका नेता वा पूर्व प्रधानमन्त्री जो कसैलाई नछाड्ने बताउनुभयो । 

सरकारले अहिले चालेको कदम सुशासनको अभियान, समृद्धिको आधारको निम्ति गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा चालेको भ्रष्टाचार विरुद्धको यो कदम निरन्तर अघि बढ्ने भन्नुहुँदै यसमा सिआईबीको टोलीलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन सबैसमक्ष आग्रह पनि गर्नुभयो । 

उहाँले अनुसन्धान तथ्यले किर्ते र सङ्गठित अपराधमा संलग्नहरू जो जहाँसम्म सिआइबीले तथ्य प्रमाणको आधारमा जाने भन्छ त्यहाँसम्म जाने बताउनुभयो । अब किर्ते र सङ्गठित अपराधलाई निष्कर्षमा पुर्‍याउन आफूहरूको जोड बल भएको बताउनुभयो ।  

उहाँले शान्ति प्रक्रियाका बाँकी काम हर हालतमा पूरा गर्ने सङ्कल्प लिएको उल्लेख गर्नुहुँदै त्यसको लागि पहिलाको त्यस सम्बन्धी ऐनलाई संशोधन गरी संसद्मा पेस गरेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिया सम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया सँगसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई समेत पूर्णता दिएर त्यो कार्यभार पूरा गर्ने बताउनुभयो । 

भ्रष्टाचार विरोधी र सुशासन कायम गर्न सरकार लागि राखेको अवस्थामा प्रमुख प्रतिपक्ष दलसहितका केही दलहरूले संसद् अवरुद्ध गर्नु उचित नभएको उहाँको भनाई थियो । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले राज्यको पेसागत रूपमा दक्ष र जिम्मेवार त्यसैको लागि भनेर निर्माण गरिएको संरचनाले काम गर्दा अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नभएको बताउनुभयो । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका गृहमन्त्री श्रेष्ठ पार्टीको प्रदेश स्तरीय बैठक तथा प्रशिक्षणमा सहभागी हुन पोखरा आउनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button