प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उहाँले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।
पछिल्लो समय स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।”
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दर कुमार थकाली (मुस्ताङ) लाई अर्पण गरिएको हो ।
फोनिजको २४ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा वितरण गरिएको उक्त पत्रकारिता पुरस्कारको राशि नगद २५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । रु पाँच लाखदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले प्रत्येक वर्ष रु एक लाखका दरले थप गर्दै यतिखेर अक्षयकोषमा रु नौ लाख पुगेको छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई जना पत्रकारलाई वार्षिक रुपमा प्रदान गरिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्