तपाईँ सुन्दै हुनुहुन्छः

न्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ : मन्त्री शर्मा

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यू मिडियालाई स्व अनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताउनुभयो । “एउटा पत्रकारले बदमासी गर्‍यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी गर्‍यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी गर्‍यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ । हामी अलि बढी नकारात्मक समाचारमा रमाउन थालेका छौँ । नकारात्मक मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ”, उहाँले भन्नुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा न्यू मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले न्यू मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो ।

दाहालको कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनः परिभाषित गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले विगतमा रेडियोका पत्रकारलाई पत्रकार नमानिएजस्तो अहिले युट्युबजस्ता माध्यममा पत्रकारिताको अभ्यास गरिरहेकालाई पत्रकार नमान्ने गल्ती गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button